रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा बाढीले बगाउँदा ३ जना प्रहरीसहित कम्तीमा १६ जना बेपत्ता भएका छन्।
चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीले बगाएर १६ जनालाई बेपत्ता बनाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी, ३ जना सवारी चालक, ६ जना नेपाली कामदार र ४ जना चिनियाँ कामदार रहेका छन्।
रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार गरिएको उनले बताए । अविरल वर्षासँगै नदीमा आएको बाढीले पक्की पुलदेखि गाडी (सवारीसाधन)समेत बगाएको छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने रसुवास्थित नेपाल–चीन मितेरी पुल मंगलबार बिहानका राति आएको बाढीले बगाएको हो । भोटेकोसी नदीमा आएको बाढीले पक्की पुलदेखि भन्सार र्याडमा भएका कन्टेनरहरू पनि बगाएको छ ।
बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन । प्रारम्भिक विवरणमै ठूलो क्षति भएको पाइएको हो ।
प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको बताइएको छ । केही कन्टेनर बगाएको कुरा छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुर्याएको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरेर क्षतिको विवरण संकलन र उद्धारको काम भइरहेको बताए । उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको उनले बताए ।
प्रतिक्रिया