रसुवाको बाढी धादिङ प्रवेश,  सतर्क रहन आग्रह

मंगलबार, २४ असार २०८२

काठमाडौं । रसुवाको भोटेकोशीमा मङ्गलवार बिहान आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङ प्रवेश गरेको छ। बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले स्थानीय बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरेको छ।

त्रिशूली नदीमा बाढीको बहाव तीव्र भएपछि गजुरी, मलेखु, चरौँदी लगायतका बस्तीका बासिन्दाहरू नदी किनारमै सतर्कताका साथ हेरिरहेका छन्। स्थानीयहरू सुरक्षित स्थानमा बसेर बाढीको स्थिति नियालिरहेका छन्।

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ। साथै, सुख्खा बन्दरगाह क्षेत्रमा पार्किङ गरिएका थुप्रै नयाँ विद्युतीय गाडी ९ईभी० पनि बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन्। उनका  अनुसार बाढीले ठुलो भौतिक क्षति पुर्‍याएको छ।

बाढीपछि गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। चीनतर्फबाट आएको बाढीले मितेरी पुलसँगै ड्राइपोर्ट क्षेत्रमा रहेका अन्य संरचनामा समेत क्षति पुर्‍याएको जानकारी पौडेलले दिएका हुन्  हो।

यसैबिच, नुवाकोटको त्रिशूली खोलामा दाउरा खोज्न गएका किस्पाङ गाउँपालिका–४ का मंगली तामाङ र पाल्तेन तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

धादिङमा हालसम्म मानवीय वा भौतिक क्षति नभएको जनाउँदै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बाढीको जोखिमलाई दृष्टिगत गर्दै जिल्लाभरि उच्च सतर्कता अपनाइएको बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार