काठमाडौं । चीनमा आज बिहान ०३:०० बजेदेखि परेको अविरल वर्षाका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. २ मा रहेको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । यस बाढीले सीमावर्ती क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
बाढीका कारण हालसम्म के-के भयो ?
१८ जना बेपत्ता, ३ नेपाली प्रहरी
बाढीका कारण हालसम्म ३ जना नेपाली प्रहरीसहित कुल १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ९ जना नेपाली , ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
भन्सार यार्डमा फसेका ९ जनाको सकुशल उद्धार
यसैगरी, सोही बाढीका कारण रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र ७ जना स्थानीय गरी कुल ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
मुख्य नाका क्षतिग्रस्त, आवागमन ठप्प
बाढीले नेपाल र चीन जोड्ने मुख्य मितेरी पुल पूर्णरूपमा क्षति भई मानिस र सवारी साधनको आवागमन पूर्ण बन्द भएको छ। यसैगरी, बिहान ०४:४० बजेको समयमा रसुवागढी भन्सार कार्यालयको यार्डमा रहेको ईभी चार्जिङ स्टेशन क्षतविक्षत भएको छ भने ७/८ वटा ईभी गाडीहरू बगाएको छ। भन्सार कार्यालयको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको छ।
अवरुद्ध सडक र उद्धार कार्य जारी
बिहान ०७:५० बजे गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ पाङ्साल्ह्याङ सडक खण्डमा समेत बाढीका कारण सडक भासिएर ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी कृष्णबहादुर बस्नेतको कमाण्डमा २० जनाको प्रहरी टोली, डि.प्र.का. सिन्धुपाल्चोकका डि.प्र.का. डिकुरे सिन्धुपाल्चोकबाट ना.नि. धनबहादुर तामाङको कमाण्डमा २८ जना, रसुवागढीबाट ना.नि. सुमन महत गिरीको कमाण्डमा १२ जना, रसुवाबाट प्र.नि. स्वामीबेशी ६ जना, प्र.चौ. हाकु रसुवागढी ७ जना र प्र.पोह मैलुङ रसुवागढी १ जनाको टोली गरी जम्मा ९४ जनाको टोली उद्धार कार्यका लागि खटिएको छ।
इलाका प्रहरी कार्यालय, सिन्धुपाल्चोकबाट खटिएका स.प्र.ना. लालबहादुर श्रेष्ठ, प्र.ज. मुना ठाकुर र प्र.ज. लोकेन्द्र बोहरा सम्पर्कविहीन रहेका छन्।
प्रतिक्रिया