काठमाडौँ । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे ।
सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए । उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएकामा जिज्ञासा राखे ।
सांसद डिगबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भए पनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए । सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरिन्।
सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको क्षति बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए । सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।
सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गरे । सांसद दीपक गिरीले कोभिड–१९ को कहरपछि मुलुक आर्थिक संकटमा फसेको, विकास बजेटको प्रभावकारी खर्च हुन नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई व्यवसायीमैत्री बनाउन आग्रह गरे ।
सांसदहरु दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले र वासुदेव घिमिरेले पनि मनसुनजनय घटनामा बृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपतकालीन उद्धार तथा राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
यस्तै आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्मा, सांसद देवेन्द्र पौडेल, सांसद अर्जुननरसिंह केसी, सांसद ईश्वरबहादुर रिजाल, सांसद विमला सुवेदी, सांसद प्रकाशशरण महत, सांसद सीता मिजार र सांसद डा अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरुको उद्धारमा ढिलाइ नगर्न आग्रह गरे ।
यसैगरी, सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकहरुले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मार्कामा परेकाले यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकालिनुपर्ने बताए ।
सांसद प्रभु हजारा, सांसद प्रभु साह र सांसद दिनेशकुमार यादवले मधेशमा खानेपानीको समस्याबारे सदनमा ध्यानाकर्षण गराए । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार रहेकाले खानेपानी उपलब्ध गराउन उनीहरुले माग गरे । यसैगरी, सांसद दिनेशकुमार यादवले सप्तरी जिल्लामा खानेपानीको हाहाकारसँगै मल र खादको पनि अभाव रहेकाले समस्याको सम्बोधन गर्नुपर्ने बताए ।
सांसद हरिप्रासद उप्रेतीले उखु किसानहरुले अनुदान नपाउँदा उद्योगहरु बन्द हुने स्थितिमा पुगेकाले किसानले बेचेको उखुँको पैसा र अनुदान पाउनुपर्ने बताए । सांसद धनबहादुर बुढा, सांसद कान्तिका सेजुवाल र सम्झना थपलियाले विभिन्न समसामयिक विषयमा आफ्ना मागबारे संसद्को ध्यानाकर्षण गराए ।
प्रतिक्रिया