झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका छन् भने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको किसनगन्जका ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुल मियाँ छन्।
मंगलबार साँझ करिब ५ः२० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई हुलाकी लोकमार्गस्थित एक चिया पसल नजिकै पक्राउ गरेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाइएको थियो।
प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनास्थलमा ६ राउण्ड गोली फायर गरिएको थियो। गोली लागेर नसरुल मियाँ घाइते भएका छन्। उनको दाहिने खुट्टाको पिँडुलामा एक राउण्ड गोली लागेको र सामान्य उपचारपछि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने लागुऔषध बरामद गरिएको छ। मनिसुर आलमको साथबाट १ सय ३ ग्राम ७० मिलिग्राम र नसरुल मियाँको साथबाट १ सय २ ग्राम १० मिलिग्राम गरी कूल २ सय ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया