झापा : असार महिनाको अन्त्यतिर पुग्दा पनि झापा जिल्लामा धान रोपाइँ सुस्त हुँदा किसानहरू चिन्तित छन् । मनसुन भित्रिएको डेढ महिनासम्म पनि पर्याप्त वर्षा नहुँदा किसानहरूको खेत अझै खडेरीले चिराचिरा परेको छ ।
मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरेका दुई बिघा खेतमा धान रोप्न अझै सम्भव भएको छैन ।
आकाशे पानीको भरमा खेती गर्ने उनी भन्छन्,“गरा भरिने गरी पानी परोस् भनेर पर्खिएको पर्खियै छ,तर अहिले खेतमा कमिला कुदेका छन् । बीउ ब्याडमै छिप्पिसक्यो, अब रोपाइँ हुने सम्भावना छैन जस्तो लाग्छ ।”
यस्तै, अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीले पनि समयमै रोपाइँ गर्न नसक्दा ठुलो आर्थिक सङ्कट झेल्नुपरेको बताएका छन् ।
उनले पाँच वर्षदेखि एक बिघा खेत वार्षिक रु ५० हजारमा ठेक्कामा लिएर धानखेती गर्दै आएका छन् । “धान फलाउँछु भनेर ठेक्कामा लिएको, अब पानी नपरेपछि त्यसको भुक्तानी कसरी तिर्ने ?” उनले चिन्ता पोखे ।
झापाका अधिकांश किसान वर्षामा भर पर्ने छन्, तर पछिल्लो समय अकासे पानीमा आएको अनियमितताले कृषि उत्पादन प्रभावित भएको छ ।
जिल्लाको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार अहिले सम्म जम्मा २१ प्रतिशत मात्रै रोपाइँ भएको छ । उनले भने,“जे जति रोपाइँ भएको छ, त्यो पनि कुलो र भूमिगत सिँचाइ भएको ठाउँमा मात्रै सम्भव भएको हो । बाँकी खेत अझै सुक्खै छन् ।”
कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन प्रवेश गरेको भए पनि प्रारम्भिक दिनहरूमा आएको भारी वर्षा र बाढीपछि नियमित रूपमा पानी नपर्दा किसान मारमा परेका छन् । जेठ १७ गतेको बाढीले झापामा माईखोलाको आसपासका २२ घर डुबानमा परेका थिए । त्यसयता रोपाइँका लागि आवश्यक मात्रामा पानी परेको छैन ।
झापामा ९८ हजार ७१६ हेक्टर खेतीयोग्य जमिन छ,जसमा ७५ हजार ५५९ हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । तर, सिँचाइको भरपर्दो व्यवस्था नहुँदा किसान अकासे पानीकै भर पर्न बाध्य छन् ।
जिल्लामा कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिइहर, भुतेनीलगायत सिँचाइ आयोजना सञ्चालनमा छन् भने कचनकबल, कमल, गौरादह, मेचीनगर, बिर्तामोड लगायतका केही स्थानमा मात्रै भूमिगत सिँचाइको सुविधा छ । बाँकी क्षेत्रमा अझै पानीकै आशामा किसान आकाशतिर हेरेर बसेका छन् ।
छिटो पाक्ने अगुवा धान असारभित्र रोप्नुपर्ने भएकाले अब पनि पानी नपरे सम्पूर्ण सिजनमै उत्पादन घाटा हुने खतरा रहेको विज्ञहरू बताउँछन् । कृषि क्षेत्रको यस्तो सङ्कटले खाद्य सुरक्षामै असर पार्न सक्ने चिन्ता उब्जिएको छ ।
प्रतिक्रिया