विराटनगर : विराटनगरका पत्रकार सुदीप कोइरालालाई यसवर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
प्रेस चौतारी मोरङको शनिबार सम्पन्न बैठकले कोइरालालाई पुरस्कृत गर्ने निर्णय लिएको हो । पुरस्कार राशि १५ हजार ५ सय रूपैयाँ छ ।
चौतारी मोरङ अध्यक्ष चीना थापाका अनुसार पुरस्कार छनोटका लागि गठित ३ सदस्यीय समितिले पत्रकार कोइरालाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेको नामलाई बैठकले अनुमोदन गरेको हो ।
उक्त छनोट समितिको संयोजकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज सुमन सुस्केरा थिए । कोइराला हाल कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष छन् ।
पत्रकारितामा करिब २ दशकदेखि सक्रिय उनी प्रेस चौतारी मोरङका पूर्वअध्यक्षसमेत हुन् । विशेष कार्यक्रमको आयोजना गरेर साउन दोस्रो साता पुरस्कार वितरण गरिने जानकारी अध्यक्ष थापाले दिइन् ।
विक्रम संवत २०६६ मा स्थापना गरिएको यो पुरस्कार यसअघि दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, विक्रम लुइँटेल, धर्मराज ढकाल, भूपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीलाई प्रदान गरिसकिएको छ ।
प्रतिक्रिया