भोजपुर : भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा शनिबार कोशी प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सभामा उद्योग, व्यापार तथा निजी क्षेत्रसँग सम्बन्धित समस्यामाथि बहस हुँदै आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई अझ सशक्त बनाउन आह्वान गरिएको छ।
सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले उद्योग वाणिज्य महासङ्घले समग्र व्यापारिक क्षेत्रको अभिभावकको रूपमा कार्य गर्दै आएको उल्लेख गरे। “निजी क्षेत्रले गरेको लगानीको सुनिश्चितता, सुरक्षा र निरन्तरताका लागि महासङ्घले संरक्षण र प्रवर्द्धनको भूमिका खेलिरहेको छ,” उनले भने। उनले भोजपुरको खुकुरी लगायत स्थानीय उत्पादनको ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याउँदै साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा जोड दिए।
राउतले भोजपुर आफ्नो जन्मथलो भएको उल्लेख गर्दै ट्याम्के डाँडा, साल्पा पोखरी जस्ता पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्न पनि उद्योग वाणिज्य सङ्घको भूमिका महत्त्वपूर्ण हुने बताए।
उद्योगी पलायन रोक्न सरकारी नीतिमा सुधारको माग
कार्यक्रमका विशेष अतिथि तथा महासङ्घका पूर्व प्रदेश अध्यक्ष नरेन्द्र खड्काले राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सरकार, निजी क्षेत्र र सहकारीको सन्तुलनमा सरकारको साथ निजी क्षेत्रमा आवश्यक भएको बताए। यस्तै, केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय उद्योगी व्यवसायीहरू पलायन भइरहेको अवस्थालाई गम्भीर समस्या भन्दै यस्तो अवस्थालाई रोक्न सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा राखे। उनले कर, ब्याजदर, मुद्रा तरलता र मौद्रिक नीतिमा सुधारको मागसमेत गरे।
निजी क्षेत्रमैत्री नीतिमा प्रतिबद्धता
कोशी प्रदेशका सांसद तथा कांग्रेस जिल्ला सभापति विनोद वान्तवाले निजी क्षेत्रमैत्री नीति निर्माणका लागि आफूले पहल गर्दै आएको बताए। उनले भोजपुरको पर्यटन, कृषि, उद्योग, विद्युत्, यातायातलगायत सबै क्षेत्रमा लगानीको अपार सम्भावना रहेको भन्दै निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै संघलाई संघीय संरचनाअनुसार विस्तार गर्नुपर्ने सुझाए। साथै, उनले नयाँ कार्यसमितिले त्रिवर्षीय कार्ययोजना बनाइ अगाडि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष धुव्र श्रेष्ठले आफ्नो कार्यकालमा भवन निर्माण, कोभिड महामारीको बेला गरिएको सेवा, विपद् व्यवस्थापन आदिको स्मरण गरे। अर्का निवर्तमान अध्यक्ष डम्बर श्रेष्ठले संघको आवश्यकताबारे आम व्यवसायीमा चेतना विकास गर्न नयाँ नेतृत्वलाई आग्रह गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रम संघका अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यहरू नरेन्द्र खड्का, उमेश डालमिया, गोकुल श्रेष्ठ, प्रयास कार्की, दीपक नेपाल, साथै कोशी प्रदेश अन्तर्गतका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, तेह्रथुम र उदयपुर जिल्लाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमअघि अध्यक्ष राउतको नेतृत्वमा उद्योग वाणिज्य संघको टोलीले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ अभियानअन्तर्गत भोजपुरको चखेवा, ट्याम्के डाँडा लगायतका स्थानहरूको अवलोकन भ्रमणसमेत गरेको थियो।
प्रतिक्रिया