धरानमा सुरु हुँदै मेजर श्रवणकुमार मेमोरियल बास्केटबल कप

सोमबार, ३० असार २०८२

धरान : डिपो स्कुलको आयोजनामा र सुनसरी तथा धरान बास्केटबल सङ्घको विशेष सहयोगमा विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप प्रतियोगिता आगामी श्रावण १५ गतेदेखि १९ गतेसम्म धरानमा हुने भएको छ।

आज सोमबार डिपो स्कुल हलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो।

प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ विद्यालय सहभागी हुनेछन्। कक्षा १० सम्मका छात्र–छात्रा खेलाडीहरूको प्रतिस्पर्धा रहनेछ। जसअनुसार विजेता टिमलाई नगद २० हजार,उपबिजेतालाई नगद १० तथा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

कार्यक्रम स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको सम्झनामा आयोजना हुँदै आएको हो। व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्बूका अनुसार मेजर लिम्बूले डिपो स्कुलको २० वर्षभन्दा बढी समय सेवा गरेका थिए।

२०७८ सालको श्रावण १५ गते कोरोना सङ्क्रमणबाट निधन भएका मेजर लिम्बूको सम्झनामा हरेक वर्ष सोही दिन प्रतियोगिता गरिँदै आएको हो।

पत्रकार सम्मेलनमा सदस्य सूर्य पन्धाक लिम्बूले मेजर लिम्बूको योगदानको स्मरण गर्दै खेलकुदले अनुशासन र नेतृत्व क्षमता विकासमा टेवा पुर्‍याउने बताए।

प्रतियोगिता डिपो स्कुल, धरान–१८ स्थित बास्केटबल कोर्टमा हुनेछ। सहभागिताका लागि अन्तिम मिति श्रावण १२ तोकिएको छ भने खेल तालिका श्रावण १३ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार