सेवाको नयाँ अध्याय : लायन्स '३२५ सि' का सय बढी समाजमुखी कार्यक्रम सार्वजनिक

मंगलबार, ३१ असार २०८२

इटहरी : सेवा,समर्पण र सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सि'अन्तर्गतका क्लबहरूले यस वर्ष पनि समाजसँगको सम्बन्धलाई अझ सशक्त बनाउने उद्देश्यले विविध र महत्त्वपूर्ण कार्यक्रमहरू सार्वजनिक गरेका छन्।

'ग्याट' एरिया ४ का क्लबहरूको सक्रिय सहभागितामा इटहरीमा सम्पन्न ‘रिजोन प्लानिङ मिटिङ’ मा सहभागी क्लबहरूले सामूहिक रूपमा एक सयभन्दा बढी समाजोपयोगी कार्यक्रमहरू प्रस्तुत गरेका हुन्।

रिजोन चेयरपर्सन भूपराज पुरीको संयोजनमा सम्पन्न कार्यक्रममा लायन्स संस्थाका विभिन्न क्लबहरूले शिक्षा, स्वास्थ्य,वातावरण संरक्षण,विपद् व्यवस्थापन,युवा सशक्तीकरणलगायतका विषयमा केन्द्रित बहुआयामिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी 'जिइटि मल्टिपल कोअर्डिनेटर' इन्द्र खत्री 'राजन'ले लायन्स संस्थाको सामाजिक भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता मिटिङहरू प्रेरणादायी हुने धारणा राखे।

उक्त कार्यक्रममा लायन्स क्लब बिपी चोक सेन्ट्रल, मनकामना, तरहरा इटहरी, इटहरी ग्रिनसिटी, इटहरी पूर्वाञ्चल, बिजनेस प्रोफेसनल,इटहरी सिटिजन,लगायतका क्लबहरूको सहभागिता उल्लेखनीय थियो। त्यस्तै नयाँ क्लबको रूपमा स्थापना भएको लायन्स क्लब अफ इटहरी न्यू भिजन का अध्यक्ष सुरेश धमलाले एक वर्षभित्र ५० लाख रुपैयाँ बराबरका १७ ओटा महत्त्वाकाङ्क्षी कार्यक्रम गर्ने घोषणा गर्दै सामाजिक रूपान्तरणमा नयाँ आयाम थप्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै,लायन्स क्लब अफ तरहरा इटहरीका अध्यक्ष पवन अधिकारीले बृहत् हाइकिङ कार्यक्रम, सार्वजनिक विद्यालयहरूमा आरओ प्लान्ट जडान र छात्रवृत्तिद्वारा विपन्न विद्यार्थीलाई उच्च शिक्षाको पहुँचसम्म पुर्‍याउने कार्यक्रम प्रस्तुत गरे।

अन्य क्लबका अध्यक्षहरूले पनि वृक्षारोपणदेखि वातावरण संरक्षण,रक्तदान,निःशुल्क स्वास्थ्य शिविर, महिला सशक्तीकरणजस्ता बहु आयामिक कार्यक्रमहरू प्रस्तुत गर्दै संस्थालाई चलायमान राख्ने प्रयासमा प्रतिबद्धता जनाए।

रिजोन चेयरपर्सन भूपराज पुरीका अनुसार सहभागी क्लबहरूले भविष्यमा सहकार्य र समन्वयलाई अझ बलियो बनाउँदै सामाजिक सेवामा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लायन्स डिस्ट्रिक्ट '३२५ सि' का द्वितीय उपाध्यक्ष रमेश खत्री, पूर्वगभर्नर लीला ढुङ्गेल,लायन्स लिडरहरू उदयनारायण बराल, नागेश पोखरेल,थानेश्वर ढकाल,एरिया चिफ भोजराजराज दाहाल,एरिया कोअर्डिनेटर टङ्क फुयाँललगायत विशिष्ट लायन्स पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

रिजोन मिटिङको समापनमा सहभागी क्लब प्रतिनिधिहरूले साझा उद्देश्यमा एकताबद्ध भई सामाजिक सेवाका आगामी कार्य योजनामा सहकार्य र समन्वयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम जोन चेयर पर्सन नारायण सुबेदीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार