धरान : इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस धरानमा लामो समयदेखि जारी शिक्षक आन्दोलनका कारण कक्षा अवरुद्ध भएपछि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) ले क्याम्पस प्रशासनलाई कडा चेतावनी दिएको छ ।
स्ववियुले मंगलबार क्याम्पस प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा विद्यार्थीको शैक्षिक अधिकार गम्भीर रूपमा प्रभावित भएको भन्दै तत्काल कक्षा सञ्चालन गर्न माग गरेको हो ।
स्ववियु सभापति सागर बस्यालले भने, “विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने प्रयासलाई स्ववियुले स्वीकार गर्नेछैन । शिक्षकहरूको समस्या समाधानसँगै पठनपाठन नियमित गर्नुपर्छ। माग बेवास्ता भए स्ववियु चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछ ।”
ज्ञापनपत्रमा ‘सिनियर फर जुनियर’ अभियान अन्तर्गत विद्यार्थी आफैंले कक्षा सञ्चालन गर्ने तयारीसमेत उल्लेख गरिएको छ । स्ववियुले क्याम्पस प्रशासन, त्रिभुवन विश्वविद्यालय तथा अन्य सरोकारवालाहरूलाई तत्काल हस्तक्षेप गर्न आह्वान गर्दै विद्यार्थीको भविष्य सुनिश्चित गर्न गम्भीर बन्न आग्रह गरेको छ ।
प्रतिक्रिया