चितवन ः भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।अस्पतालका आकस्मिक कक्ष इन्चार्ज अलाउद्धिन मियाका अनुसार वैशाख महिनामा ६० जनाको उपचार गरिएकोमा जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । जसमध्ये पाँच जना विषालु सर्पले टोकेका बिरामी छन् ।
यसैगरी, असार महिनामा १२६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । जसमा नौ जना विषालु सर्पले टोकेका बिरामी रहेको इन्चाज मियाले जानकारी दिए ।
यस अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा, लम्जुङदेखिका बिरामी आउने गरेका छन् । अस्पतालमा आएकालाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षण अनुसार उपचार गर्ने गरिएको छ ।
विषालु अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायत पर्दछन् । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नसालाई असर पु¥याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।
विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आइएको मियाले बताए । हाल भरतपुर अस्पतालमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।
प्रतिक्रिया