इटहरी : नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा सम्पन्न भएको छ । आइतबार साँझ इटहरीको संगीत चोकमा आयोजित सभामा पत्रकार, नागरिक समाजका प्रतिनिधि, शिक्षाविद्, साहित्यकार, कलाकार, राजनीतिक दलका नेता तथा मानव अधिकारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सभामा वक्ताहरूले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रता संविधानमा सुनिश्चित अधिकार भएपनि पछिल्लो समय राज्यस्तरबाटै प्रेस स्वतन्त्रता दबाउने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । उनीहरूले पत्रकारिता क्षेत्रमा भइरहेको दमन, धम्की र हस्तक्षेपको कडा विरोध गरे ।
वक्ताहरूले निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधार भएकाले त्यसको संरक्षणका लागि सञ्चारकर्मीहरूबीच ऐक्यबद्धता आवश्यक रहेको धारणा राखे । साथै, प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको कृपा नभई संविधानद्वारा प्रत्याभूत अधिकार भएको भन्दै यसको रक्षा सबै नागरिकको कर्तव्य भएको उल्लेख गरे ।
सभामा पत्रकारिताको मर्यादा र व्यावसायिकता जोगाउन सञ्चार माध्यम, सरकार र सरोकारवाला निकायहरूबीच सकारात्मक समन्वय र समर्थन आवश्यक रहेकोमा जोड दिइयो ।
खासगरी सुनसरीका पत्रकाहरु इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पछिल्लो समय दिएको आपत्तिजनक अभिव्यक्ति पछि आन्दोलनमै उत्रिएका छन् । मेयर पौडेलको अभिव्यक्तिको चौतर्फि बिरोध भइरहेको छ ।
प्रतिक्रिया