इटहरीको ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु

आइतबार, ०४ साउन २०८२

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थित ट्यांग्रा खोलामा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी–३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी–२ का ९ वर्षीय क्रिश्वास लिम्बू छन्। दिउँसो करिब ३ बजेतिर खोलामा पौडी खेल्दा डुबेका बालकहरूलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल, बूढीगंगा मोरङ लगिएको थियो।

डीएसपी लक्ष्मी भण्डारीका अनुसार अस्पतालमा पुर्‍याइएपछि दीपसनलाई ३ः४३ बजे र क्रिश्वासलाई ३ः५३ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

“दुवै बालक खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन्,” डीएसपी भण्डारीले भने, “घाइते अवस्थामै उद्धार गरेर अस्पताल पठाइएको थियो तर उपचार शुरु गर्न नपाउँदै उनीहरूको ज्यान गयो।”

हाल मृतक बालकहरूको शव विराट शिक्षण अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार