‘असफाल्ट प्लान्ट’को प्रदूषणले बनौली बस्तीमा संकट, स्थानीयको स्वास्थ्यमा गम्भीर असर

मंगलबार, ०६ साउन २०८२

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–३ बनौलीमा सञ्चालनमा रहेको ‘बजरङ्गबली कन्स्ट्रक्सन’को असफाल्ट प्लान्टले उत्पन्न गरेको प्रदूषणका कारण स्थानीय बासिन्दा स्वास्थ्य संकटमा परेका छन्। तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्टबाट निस्कने धूलो, धुवाँ, कडा गन्ध र आवाजले दैनिक जीवन कष्टकर बनेको भन्दै स्थानीयहरूले कडा असन्तुष्टि जनाएका छन् ।

स्थानीयका अनुसार बस्तीको छेउमै सञ्चालनमा रहेको प्लान्टमा गिट्टी र अलकत्रा तताउने क्रममा अत्यधिक प्रदूषण फैलिरहेको छ। “विशेषगरी बिहान र साँझ तिर धूलो र गन्धले सास फेर्नै कठिन हुन्छ,” स्थानीय रवीन्द्र चौधरीले बताए।

प्रदूषणका कारण कतिपय स्थानीयले घरमै बस्न नसक्ने अवस्था आएको भन्दै बसाइँ सरेका छन्। तीन किलोमिटर टाढा बसाइँ सरेका विजय सहनीले भने, “उद्योगको गन्ध र धूलो–धुवाँले यहाँ बस्नै नसकिएर सरेको हुँ, तर त्यहाँ पनि असर आइपुगेको छ।”

नजिकका बनौली, घले टोल, छप्रारी टोल, मेदनीपुरजस्ता बस्तीहरूमा समेत असर देखिएको स्थानीयको गुनासो छ। ती क्षेत्रहरूमा हजारौँ मानिस बसोबास गर्छन्।

विद्यालय र बालबालिका बढी प्रभावित
असफाल्ट प्लान्टको नजिकै रहेको नाइटिङ्गेल विद्यामन्दिर स्कुलका करिब ४ सय विद्यार्थी प्रदूषित वातावरणमा पढ्न बाध्य छन्। विद्यालयका प्रधानाध्यापक विजय चौधरीका अनुसार हालै केही महिनादेखि वाकवाकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिन थालेका छन्। अभिभावकहरूका अनुसार अस्पतालसम्म पुग्नुपर्ने अवस्था समेत आएको छ।

प्रशासनको हस्तक्षेप र स्थानीयको असन्तुष्टि
प्लान्टको प्रदूषणबारे पटक–पटक उजुरी दिँदै आएका स्थानीयको दबाबपछि गत असार १८ गते इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा स्थलगत अनुगमन गरिएको थियो। प्लान्ट सञ्चालक अनुपस्थित रहेकाले त्यसक्रममा उद्योगमा ताला लगाइएको थियो। त्रिपक्षीय सहमतिअनुसार असार मसान्तसम्म सञ्चालन गर्न दिने र साउन १ गतेदेखि प्रदूषण नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने सर्तसहित ताला खोलिएको थियो।

तर स्थानीयका अनुसार सहमतिअनुसार सुधार नगरिएकाले प्लान्ट पुरानै ढंगले प्रदूषण फैलाउँदै सञ्चालनमा आएको छ। “अब बस्ती सार्ने कि प्लान्ट सार्ने?” स्थानीय नवीन किशोर चौधरीले प्रश्न उठाए।

सञ्चालकको दाबी र प्रशासनको चेतावनी
प्लान्ट सञ्चालक राजेश्वर साहले भने प्लान्ट सबै कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गरिएको दाबी गरे। “पहिला कसैलाई केही थिएन, अहिले राम्रोसँग चलाउन थालेपछि समस्या बनाइएको हो,” उनले भने। उनले वातावरणीय अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने र आवश्यक परे स्थानान्तरण गर्न तयार रहेको बताए।

तर स्थानीयले भने वातावरणीय प्रभाव मूल्याङ्कन बिना उद्योग सञ्चालन गरिएको आरोप लगाएका छन्। प्लान्ट केवल ‘कन्स्ट्रक्सन कम्पनी’का रूपमा दर्ता भएको पुष्टि घरेलु तथा साना उद्योग कार्यालयले गरिसकेको छ।

अब के हुन्छ?
इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले प्लान्ट बन्द गर्न साना उद्योग कार्यालयलाई निर्देशन दिइसकेको बताए। “जनस्वास्थ्यभन्दा ठूलो केही छैन, सहमति बिना उद्योग सञ्चालन गर्न दिँदैनौं,” उनले भने।

धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले चाँडै अनुगमन गरेर आवश्यक निर्णय गरिने प्रतिक्रिया दिएका छन्। “यदि वातावरणीय असर पुष्टि भयो भने उद्योग बन्द गरिन्छ,” उनले भने।

राससको सहयोगमा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार