१४ वर्षदेखि बेपत्ता छोराको प्रतीक्षामा खोटाङका विष्ट परिवार : ‘१२ वर्षमा खोला फर्किन्छ भन्थे, छोरा त अझै आएन’

बुधबार, ०७ साउन २०८२

इटहरी : ‘१२ वर्षमा खोला फर्किन्छ भन्थे । तर, १४ वर्ष बितिसक्दा पनि मेरो छोरा अझै फर्किएको छैन,’ खोटाङको केपिलासगढी गाउँपालिका–२ की मनमाया विष्ट गुनासो पोख्छिन् । 

माइलो छोरा टीकाराज विष्ट बेपत्ता भएपछि २०६६ सालको मङ्सिर देखी उनको स्थिर बन्न सकेको छैन । छोरा फर्किने आसमा करिब डेढ दशक समय बित्न लाग्यो । तर, कुनै अत्तोपत्तो छैन । 

२२ वर्षीय टीकाराज त्यसबेला सुनसरीको इटहरीमा अङ्ग्रेजी भाषा सिक्न आएका थिए । उनी आफ्ना काका एकराज बिस्टसँग बस्दै अल्फाविटा इन्स्टिच्युटमा पढ्थे। मङ्सिर महिनादेखि इटहरीमा बसेर भविष्य निर्माणको सपना बुनिरहेका थिए। तर, २०६७ साल वैशाख १४ गतेको बिहान साइकल लिएर पढ्न निस्केका उनी अहिलेसम्म फर्किएका छैनन् । 

बिहान ८ बजेतिर निस्कँदा न त उनले आमाबुबासँग बिदाइ बोलेका थिए, न त केही अस्वाभाविक सङ्केत दिए । त्यो बिहानबाट उनी देखा परेका छैनन् । त्यसयता टीकाराजको जीवन एउटा रहस्य बनेर हरायो।

छोरा हराएको खबरले आत्तिएको विष्ट परिवारले त्यसपछि दिनरात एक गरेर खोजी थाल्यो । इलाका प्रहरी कार्यालय इटहरी, पकली हुँदै विभिन्न प्रहरी कार्यालयमा उजुरी पर्‍यो । गाउँघरमा सूचना फैलाइयो । सञ्चारमाध्यममा अपिल गरियो । आफन्त, साथीभाइ, सुराकी — जसले जसरी भने, त्यहीँ पुगेर सोधी खोजी गरे। तर, कुनै सूचना आएन । न जीवनको चिनो फेला पर्‍यो।

६२ वर्षीय बाबु तेजबहादुर विष्ट भन्छन्, ‘हामीले सम्पत्ति सक्यौँ । शारीरिक र मानसिक सन्तुलन गुमायौँ । तर, छोरा अझै फेला परेको छैन । कहिलेकाहीँ लाग्छ — अब त पक्कै फर्किएला । तर, फेरि तीतो यथार्थसँग फर्कनुपर्छ।’

६६ वर्षीया आमा मनमाया बिस्टका लागि छोरा अझै पनि घरको ढोकाबाट छिर्लान् कि भन्ने सपना अदृश्य बनेर आउने गर्छ। उनी भन्छिन्, ‘खोला त १२ वर्षमा फर्किन्छन् भन्ने सुनिन्थ्यो । तर, मेरो छोरा त अझै कतै देखिएको छैन। न सपना देख्न सकिन्छ, न त रोएर नै सकिन्छ।’

तीन भाइमध्ये माइलो थिए टीकाराज । उनमा अध्ययन, भविष्य निर्माण र परिवारको आशाको बोझ थियो। साथीभाइ, शिक्षक, काका कसैले पनि सोच्न सकेनन् कि त्यो दिन उनको अन्तिम भेट हुनेछ। 

हराएपछि आमाबुबाको मानसिक अवस्था कहिल्यै पुरानो हुन सकेन । परिवारको समग्र ऊर्जा उनी खोज्नमै सकिएको छ। टीकाराजका दाजु भरतकुमार विष्ट अहिले शुक्रजित माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन्। 

उनी मिडिया र आमजनतासँग अपिल गर्छन्, ‘हामी अहिलेसम्म पनि आशामा बाँचिरहेका छौँ। यदि कसैले कतै केही देख्नुभयो भने नजिकको प्रहरी वा हामीलाई खबर दिनुहोस्।’ भरतको यो आग्रह केवल एक जनाको अनुरोध होइन, त्यो सिङ्गो विष्ट परिवारको अन्तिम भरोसाको स्वर हो।

१४ वर्ष केवल समयको मापन होइन । पीडाको पराकाष्ठा हो। एक परिवारको जीवन स्थिर भएको यथार्थ हो । जुन प्रत्येक बिहान चुकचुकाएर सम्झाइरहन्छ ‘ टीकाराज अझै हराइरहेका छन्।’

नेपाली समाजमा प्रत्येक बेपत्ता व्यक्तिको पछाडि एउटै पीडा हुन्छ । तर, थोरै मात्र सार्वजनिक हुन्छन्। टीकाराज बेपत्ता हुनु राज्यको संवेदनशीलताको परीक्षा पनि हो। 

नागरिक बेपत्ता हुँदा, त्यसको खोजी केवल परिवारको होइन, राष्ट्रको जिम्मेवारी हो। यथार्थचाहिँ के हो भने टीकाराज केवल हराएका एक युवक होइनन्, उनी संवेदना हराएको समाजको प्रश्न पनि हुन्। उनी टीकाराज बेपत्ता भएयता परिवारको मर्मस्पर्शी व्यथा झन् कहालीलाग्दो बन्दै गइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार