बिपीको बाटो बिर्सँदै कांग्रेस : दुई कोइराला दुईतिर, परिवार भित्रै मेलमिलापको अभाव

बुधबार, ०७ साउन २०८२

काठमाडौँ : ‘यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हुनुपर्छ।

देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं।’ २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित भारत निर्वासनबाट स्वदेश फर्कनुअघि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले गरेको अपिलको अंश हो यो।

बिपीसहितका नेताहरू मृत्युदण्डलगायत विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी आफू र आफ्ना लागि होइन, पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई केन्द्रमा राखेर स्वदेश फर्केका थिए। देश र जनताका खातिर पार्टीभित्र मात्र होइन, मुलुकका सबै शक्तिसँग एकता र मेलमिलापको नीति बिपीले लिएका थिए। तर अहिले राजनीतिमा लागेपछि देश, जनता र पार्टीलाई के दिने भन्ने होइन, आर्थिक उपार्जन र व्यवसाय सञ्चालन गर्ने मानसिकता नेता–कार्यकर्तामा हाबी भएको छ।

जनतासँगको सम्बन्ध सपार्ने मामिलामा कांग्रेसका नेताहरू कमजोर बन्दै गएका छन् भने नेता–कार्यकर्ताबिच आत्मीयता होइन, लेनदेनको सम्बन्ध हाबी भएको छ। पार्टी, नेता–कार्यकर्ता र जनताका लागि होइन, आफू र आफ्ना निम्ति मात्र भन्ने मानसिकता राजनीतिक दलहरूमा हाबी भएको आरोप लाग्दै आएको छ।  

व्यापारिक पृष्ठभूमिका कृष्णप्रसाद कोइराला राणा शासन विरोधी आन्दोलनमा सहभागी भए। उनैबाट प्रेरित छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद (बिपी), केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला राजनीतिमा होमिएका हुन्।

कृष्णप्रसादका छोराहरू केशवप्रसाद र तारिणीबाहेक तीनैजना मुलुकको प्रधानमन्त्री बने। कृष्णप्रसादका नाती पुस्ता अहिले (बिपीका कान्छा छोरा शशांक, केशवप्रसादका कान्छा छोरा शेखर र गिरिजाप्रसादकी छोरी सुजाता) कांग्रेस राजनीतिमा सक्रिय छन्।  

देशभित्र र बाहिर बिपीले राजनीतिक, सामाजिक र साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा अहिले पनि हुने गरेको छ। बहुलवादमा आधारित शासन प्रणालिभित्र सामाजिक न्यायसहित प्रजातान्त्रिक समाजवादको नीति र सिद्धान्तअनुसार नै मुलुकको सिंगो राजनीति अघि बढेको कुरा कांग्रेसका नेता–कार्यकर्ताले मात्र होइन, अन्य दलका नेताहरूले पनि स्विकारेका छन्।

बिपीको विचार र सिद्धान्तमा सिंगो मुलुक अघि बढेको भनिए पनि उनको परिवारका सदस्यबिच भने एकता र मेलमिलाप नरहेको गुनासो नेता–कार्यकर्ताको छ। कृष्णप्रसादका नाती पुस्ता बिपीको ४३औं स्मृति दिवसमा पनि एकै ठाउँमा उभिएनन्।

२०३९ साउन ६ गते क्यान्सरबाट निधन भएका बिपीको स्मृतिमा कांग्रेसले मंगलबार राजधानीसहित देशभर विभिन्न कार्यक्रम आयोजना ग¥यो। यसै क्रममा शशांक बिपीलाई स्मरण गर्न काठमाडौंको सुन्दरीजल पुगे। त्यहाँ पुगेर उनले पार्टीले बिपीको बाटोलाई छाडेको गुनासो गरे। बिपीले मुलुकको अप्ठेरो अवस्थामा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढेको स्मरण गर्दै शशांकले भने, ‘उहाँमा सबैलाई समेट्न सक्ने क्षमता थियो। उहाँकैै पदचापमा कसरी हिँड्ने भन्ने चिन्ता छ।’  

आठ वर्षसम्म बिपी सुन्दरीजल जेलमा बस्दा र त्यसपछि उनले भोगेका समस्या स्मरण गर्दै शशांकले अहिले पनि आँखाबाट आँस आउने बताए। तर त्यस्तो कठिन अवस्थालाई आमा सुशीला (बिपी पत्नी) ले सम्हालेको स्मरण पनि उनले गरे। तत्कालीन पञ्चायत सरकारले बिपीसहितका नेताहरूलाई झन्डै आठ वर्ष सुन्दरीजल जेलमा राखेको थियो।

अहिले सोही जेललाई संग्रहालयमा परिणत गरिएको छ। शशांक सुन्दरीजलमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला शेखर भने बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धरामा आयोजना गरेको कार्यक्रममा थिए। शेखरले बिपीको आदर्श, सिद्धान्त र कार्यक्रमबाट कांग्रेस टाढिएको बताए।

बिपीले देखाएको बाटो कांग्रेसले छाड्दै गएको बताउँदै उनले भने, ‘हामीले पार्टीको कोर भ्यालु, सिद्धान्त र कार्यक्रम छाड्दै गएका छौं। त्यसमा हामी सबैको आआफ्नो ठाउँमा गल्ती छ। सबैले त्यसमा बोल्नु पर्छ।’ अलगअलग कार्यक्रममा शेखर र शशांक दुवैले बिपीको आदर्श, सिद्धान्तअनुसार नै पार्टी अघि बढ्नुपर्ने बताए।  

कोइराला परिवारमा पार्टी राजनीतिमा कसले स्थान बनाउने र कसलाई अघि बढाउने भन्ने होड र विवाद छ। यसले पारिवारिक बेमेल र तिक्तता निम्ताएको कांग्रेसका नेता–कार्यकर्ता बताउँछन्। पार्टीको आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने चाहना शेखर र शशांक दुवैमा छ।

१४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका शेखरले आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न सोहीअनुसारको सक्रियता बढाएका छन्। शेखर जति महाधिवेशनकेपन्द्रत अभियान शशांकले चलाएका छैनन्। तर सभापति शेरबहादुर देउवासहितका नेताहरूको साथ र समर्थनसहित नेता–कार्यकर्ताको मन जित्ने र नेतृत्वमा पुग्ने रणनीति शशांकको छ। कोइराला परिवारको मात्र होइन, संस्थापन इतर र देउवा समूहलाई समेत विश्वासमा लिएर नेतृत्वमा पुग्न चाहन्छन् उनी। शेखर आफ्नै सक्रियता र पार्टीभित्रका सबै पक्षको मन जितेर नेतृत्वमा पुग्ने कसरतमा छन्।

‘भाइ फुटे गवार लुटे’ भनेजस्तै कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवारका तीन नेता तीनतिर फर्कंदा नेतृत्वमा पुग्ने अवसर गुमेको कार्यकर्ताको बुझाइ छ। एकथरी शंशाक, शेखर र सुजातालाई एकै ठाउँमा उभ्याएर पार्टी नेतृत्व कोइराला परिवारमा फिर्ता ल्याउने प्रयासमा छन्। तर तीनजनाबिचको टकराव र औपचारिक मात्र सम्बन्धले कार्यकर्ताको प्रयास सफल भएको छैन। बिपी स्मृति दिवसमा पनि तीनजना अलग र फरक कार्यक्रममा सहभागी भएबाट आपसमा सौहार्दता नभएको पुष्टि हुन्छ।

कांग्रेस र कोइराला परिवारभित्रको विवाद नौलो होइन। २००९ सालमै एकाघरका दाजुभाइ बिपी कांग्रेस सभापति र मातृकाप्रसाद प्रधानमन्त्री भएदेखि नै विवाद सुरु भएको हो। दाजुभाइबिचको शक्ति संघर्षको होडले बिपीले मातृकालाई सरकारबाट फिर्ता मात्र बोलाएनन्, पार्टी निर्णय नमानेको भन्दै साधारण सदस्यसमेत नरहनेगरी हटाइदिए।

बिपी र मातृकाको विवादलाई नजिकबाट नियालेको ‘इन्डियन नेसन’ ले २२ जुलाई १९५२ मा लेखेको थियो, ‘नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई यो थाहै होला कि उनीहरूको कुनै ठुलो मतभेद नेपाली कांग्रेसका निम्ति मात्र हानिकारक छैन, अपितु संस्था र देशमा अहिले चलेको प्रजातान्त्रिक प्रणालीको प्रयोगका निमित्त पनि हानिकारक सिद्ध हुन्छ।’ यसैबिच सभापति देउवाले बिपीको आदर्श, मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशको मन्त्र भएको बताएका छन्। 

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा देउवाले बिपीको जीवन सधैं संघर्ष र आन्दोलनमा गुज्रिएको स्मरण गरे। उनले भने, ‘बिपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागिसमेत मार्गदर्शन हो।’

बिपीको सिद्धान्त र स्थापित मूल्य र मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको धारणा राख्दै देउवाले भने, ‘राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन उहाँले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ।’ २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेपछि बिपीसहितका नेतालाई जेल हालेका थिए।

आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार