आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदूतको योगदान महत्वपूर्ण : मन्त्री राणा

बुधबार, ०७ साउन २०८२

काठमाडौं : परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति र जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्।

बुधबार राजधानीमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसीएन) को १८औं वार्षिक साधारणसभा तथा चार्टर डे समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपाल र ती वाणिज्यदूतहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन उनीहरूको योगदान अपरिहार्य रहेको उल्लेख गरिन्।

“अहिलेको विश्वमा साझा समृद्धिका लागि द्विपक्षीय सहकार्य आवश्यक छ। व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, अन्तर्राष्ट्रिय पहिचान विस्तार र परस्पर चासोका विषयमा अवैतनिक वाणिज्यदूतहरूको भूमिका निर्णायक हुन्छ,” मन्त्री राणाले भनिन्।

कार्यक्रममा एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू औपचारिक प्रतिनिधिमात्र नभई नेपालको आर्थिक कूटनीतिको सक्रिय साझेदार रहेको बताए। “हामी सेरेमोनियल भूमिकाबाट माथि उठेर नेपालको विकासमा सक्षम, सक्रिय र समर्पित रूपमा जुटिरहेका छौं,” उनले भने।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले नेपाल एलडीसीबाट स्तरोन्नति हुने चरणमा रहेकाले आर्थिक रूपान्तरणका लागि वाणिज्यदूतहरूले ‘स्वयम्सेवक’को भूमिकामा काम गर्न सक्ने उल्लेख गरे।

उनले एचसीसीएनले परराष्ट्र मन्त्रालयसँग सहकार्यमा पहिलोपटक आर्थिक सम्मेलन आयोजना गर्न लागिरहेको जानकारी दिए। हालै चन्द्रगिरिमा आयोजित कार्यशालामा वैदेशिक लगानी, पर्यटन, नवप्रवर्तन र प्रवासी नेपालीसँग सहकार्यमा वाणिज्यदूतहरूको भूमिकाबारे विस्तृत छलफल भएको उनले स्मरण गरे।

कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले नेपालको अनौठो कूटनीतिक उपस्थिति र विकासको समन्वयमा अवैतनिक वाणिज्यदूतको सक्रियता आवश्यक रहेको धारणा राखे।

उक्त समारोहमा ढकालले एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ, अवैतनिक वाणिज्यदूतलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार