डेनमार्कमा सुरु भयो प्याब्सनको शैक्षिक भ्रमण तथा नेतृत्व विकास सेमिनार

बुधबार, ०७ साउन २०८२

काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा डेनमार्कको कोपेनहेगनमा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरु भएको छ। सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरिन्।

उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी मुलुकहरूले शिक्षा क्षेत्रमा गरेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरूका लागि समेत उपयोगी हुने बताउँदै प्याब्सनको यस्तो पहललाई प्रशंसनीय कदमको रूपमा व्याख्या गरिन्।

उनले भनिन्, “नेपाली विद्यालयहरूमा पछिल्लो समय उल्लेखनीय सुधार देखिएको छ, अब सामुदायिक विद्यालयहरूलाई समेत बलियो बनाउनु आवश्यक छ।”

प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीमा नेपालभरिका ५४ जना विद्यालय सञ्चालक, प्रिन्सिपल र शिक्षक सहभागी छन्।

ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको सेमिनारको उद्देश्य अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासहरूसँग नेपाली शिक्षकमाझ अनुभव आदानप्रदान गराउनु रहेको अध्यक्ष अधिकारीले बताए।

प्याब्सनका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष डिके ढुङ्गानाका अनुसार टोलीले डेनमार्कपछि स्विडेन र फिनल्यान्डको भ्रमण गर्नेछ। फिनल्यान्डमा त्यहाँको विद्यालय शिक्षा प्रणालीसम्बन्धी विशेष सेमिनार समेत आयोजना गरिनेछ।

ढुङ्गानाले राज्यका सबै तह र निकायहरूले मिलेर काम नगरेसम्म शिक्षा प्रणालीमा समग्र सुधार सम्भव नभएको उल्लेख गर्दै निजी क्षेत्रको भूमिकालाई सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा ग्लोबल हेल्प फाउन्डेसनका प्रतिनिधि सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए।

सेमिनार टोली जुलाई २२ मा काठमाडौँबाट प्रस्थान गरेको हो भने आगामी जुलाई ३१ मा पुनः स्वदेश फर्कने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार