इलाम : सुर्योदय नगरपालिका–६ स्थित हर्कटेबाट रोङ गाउँपालिका हुँदै झापाको निन्दा जाने ग्रामीण सडक पूर्वनिर्धारित शीर्षक विपरीत अन्य स्थानबाट निर्माण गर्न थालिएको भन्दै स्थानिय बासिन्दा तथा जनप्रतिनिधिहरूले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
सडक “हर्कटे–निन्दा” शीर्षकमा पारित भई बजेट विनियोजन भएको भए पनि हाल निन्दाबाट नापजाँच सुरु गरिएकोमा आपत्ति जनाउँदै सुर्योदय नगरपालिकाको १७ औं नगरसभाले सो सडक हर्कटेबाटै सुरु गर्न निर्णय गरेको थियो। यही निर्णयलाई कार्यान्वयन गराउन उपमेयर दुर्गा बराल र वडा नं. ६ का अध्यक्ष शिवबहादुर बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री राईले सडक पूर्वनिर्धारित शीर्षकअनुसार नै हर्कटेबाटै निर्माण हुने स्पष्ट पारेका छन्। उनका अनुसार यस पटक इलामका सडकहरू इलाममै नवस्थापित पूर्वाधार कार्यालयमार्फत निर्माण गरिनेछ र हर्कटे–निन्दा सडकको काम हर्कटेबाटै थालिनेछ।
प्रतिनिधिमण्डलले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र भौतिक पूर्वाधार सचिवलाई समेत भेटी शीर्षकअनुसार नै सडक निर्माणको माग दोहोर्याएका थिए। मुख्यमन्त्री कार्कीले पनि सोही अनुरूप काम हुने आश्वासन दिएका छन्।
स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूको दाबी अनुसार सडकको मुख हर्कटेबाट राखिनु विकास, जनघनत्व, तथा उत्पादनजन्य क्षेत्रको पहुँचका लागि आवश्यक छ। यसअघि पनि सुर्योदय नगरपालिका, रोङ गाउँपालिका–६, जिल्ला समन्वय समिति र प्रदेश सभाका सांसदहरूले पटक–पटक शीर्षकअनुसार काम गर्न दबाव दिँदै आएका थिए।
तर, केही व्यक्तिको स्वार्थ र दबाबमा सडक निन्दाबाट सुरु गर्ने प्रयास भएपछि स्थानीयले प्रतिवाद गरेका छन्। उनीहरूले यदि शीर्षक विपरीत काम गरिए अदालत, अख्तियार लगायतका संवैधानिक निकायमा उजुरी दिने, संलग्न कर्मचारी र नेताहरूलाई समेत नछोड्ने चेतावनी दिएका छन्।
सडक संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भई हाल मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत निर्माणाधीन छ। विगतमा हर्कटेबाटै निरन्तर विस्तार हुँदै आएको यो सडक पछिल्ला वर्षमा उल्टो बाटोबाट निर्माण गर्न खोजिएकोमा स्थानीय आक्रोशित छन्। अब भने अन्याय सहन नसकिने भन्दै सशक्त आन्दोलनमा उत्रिन स्थानीय तयारी अवस्थामा रहेको बताएका छन्।
प्रतिक्रिया