नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको अवस्थामा पक्राउ परेका ४७ जना नेपाली महिलालाई दिल्लीस्थित नेपाली दूतावास र भारतीय सुरक्षा अधिकारीहरूको समन्वयमा नेपाल फर्काइएको छ।
एनओसी (अनिवार्य प्रस्थान स्वीकृति) बिना कुवेत जान लागेका ती महिलालाई भारतीय अध्यागमनले नियन्त्रणमा लिएपछि नेपाली दूतावासले हस्तक्षेप गरी स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको हो।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले सुनौली नाकाबाट महिलाहरूलाई रुपन्देही ल्याई स्थानीय प्रशासनको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। उनका अनुसार ती महिलाहरूलाई थप अनुसन्धानका लागि अहिले काठमाडौँ ल्याइँदै छ।
गृहमन्त्री रमेश लेखकले घटनालाई गम्भीर मानव तस्करीको आशङ्काका रूपमा लिएर तत्काल उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन्। उनले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन आदेश दिएका छन्।
गृह मन्त्रालयका अनुसार पछिल्लो समय भिजिट भिसाको नाममा विशेषगरी महिला कामदारलाई अवैध रूपमा खाडी मुलुक लैजाने गिरोह सक्रिय छ। यसअघि पनि काठमाडौँ, नयाँ दिल्ली र मुम्बई हुँदै त्यस्ता अवैध यात्राको प्रयास भएका थिए।
विज्ञहरूका अनुसार पछिल्लो समय भिजिट भिसाको आडमा घरेलु कामदारको रूपमा नेपाली महिलालाई खाडी मुलुक लैजाने धन्दा तीव्र भएको छ। एनओसी बिना जानेहरूलाई कुवेत, साउदी, कतार लगायत मुलुकमा घरेलु काममा लगाइन्छ, तर कानुनी प्रक्रिया नअपनाई गएकाले उनीहरू असुरक्षित रहन्छन्।
गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सुरक्षा निगरानी कडा पार्न र भारत हुँदै हुने मानव तस्करी नियन्त्रणमा विशेष अभियान चलाउने तयारी गरिरहेको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरे भन्छन्, “यी महिला मानव तस्करको चङ्गुलमा परेका हुन सक्छन्। प्रारम्भिक अनुसन्धानले केही व्यक्तिहरूको संलग्नता देखिएको छ। काठमाडौँ ल्याएर विस्तृत अनुसन्धान हुनेछ।”
प्रतिक्रिया