पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरूलाई फसाउने काम भइरहेको छ । उनीहरूलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ । साथै शारीरिक र मानसिक रूपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरूमार्फत नै आफ्नो आफन्तहरू बोलाउन लगाउने गरिएको छ ।
नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ छ । नेपालको तुलनामा भारत विशाल देश हो । त्यसैले नेपालीहरूको अध्ययन एवम् रोजगारीको गन्तव्य पनि हो । दुई देशबिच रोटी–बेटिको सम्बन्धदेखि व्यापार व्यवसाय गर्न, पढ्न वा रोजगारी गर्न जाने ठाउँ समेत हो । तर धेरै जना नेपाली जोखिमको अवस्थामा छन् । महिला र बालबालिका अझ बढी जोखिममा पर्ने गरेका छन् । पछिल्लो समय फरक ट्रेन चलिरहेको छ । जुन निकै चुनौतीपूर्ण र खतरापूर्ण छ ।
पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरूलाई फसाउने काम भइरहेको छ । उनीहरूलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ । साथै शारीरिक र मानसिक रूपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरूमार्फत नै आफ्नो आफन्तहरू बोलाउन लगाउने गरिएको छ । यस्तो धन्दा एकदमै धेरै फस्टाइरहेको छ । यो धन्दा नेपालमै पनि हुने गरेको छ । केही दिन अघि मात्र सुर्खेतबाट १४ जनालाई पक्राउ गरिएको छ भने चितवनबाट पनि १८ जनालाई पक्राउ गरिएको छ ।
तर भारतमा यस्तै किसिमको धन्दा भास्ट रूपमा चलिरहेको छ । त्यस्तै घटनामा फसेका ५८ जनालाई केही साताअघि उद्धार गरेका थियौँ । त्यो सबैलाई अवगत नै छ । यो घटना पत्ता लगाउने सिलसिलामा एक जनाको मृत्यु भएपछि धेरै कुरा थाहा पाएका हौँ । त्यसपछि धेरै ठाउँलाई रेट गर्दै गर्दा ५७ जनालाई निकालेर नेपालसम्म सुरक्षित रूपमा ल्याएका थियौँ । यस्तो धन्दामा फसेका अरू पनि धेरै जना नेपाली छन् भन्ने कुरा आएको छ ।
फसाउने तरिका पनि काइदाको छ । सुरुमा आफू फसेको नै पत्तो नपाउने रहेछन् । आफूमार्फत बोलाइएका व्यक्तिबाट टाढा राखिँदो रहेछ । कति कमाउँछ भनेर टाढा बनाउन लगाइने रहेछ । राम्रो पैसाको लोभ देखाउने र उनीहरूलाई बोलाउने अनि बोलाइसकेपछि बन्धक बनाउने काम भइरहेको छ । बन्धक बनाएर उनीहरूसँग पैसा माग्ने, अरू मान्छेहरू बोलाउन माहौल बनाउने, बन्धक बनाइएकाहरूको बे्रन वास गरेर पैसा असुल्ने काम अहिले भइरहेको छ ।
आकर्षक पैसा हुने रोजगारीको प्रलोभन देखाएर जोखिममा पर्नु भन्दा पनि ठुलो सपना देखाउने गरिएको छ । गाडी र बङ्गलाको सपना देखाउने गरिएको छ । यस्ता घट्नाहरु हामीले धेरैजसो विहारमा फेला पारेका छौँ । दुई महिना पहिला ५ सय ६८ जनालाई उद्धार गरिएको थियो । जसमध्ये नेपाली पनि थिए र भारतीय पनि थिए । भारतका राजिस्थान, पन्जाब, हरियाणा जस्ता टाढा टाढा राज्यहरूका व्यक्तिहरू थिए । त्यस क्रममा २८ वर्षभन्दा कम उमेरकालाई बन्धकजस्तै बनाएर राखिएको रहेछ । र त्यसबेला पनि हामीले नै उद्धार गरेर नेपालसम्म ल्याएका थियौँ ।
त्यसपछि फेरी ५८ जना रुद्रपुर एवम् काँसीपुर पुगेर उद्धार गरेका हौँ । अहिले पनि बिहारको विभिन्न ठाउँमा यस्तो धन्दा चलिरहेको छ । त्यसका लागि एउटा कुनै फर्म वा कम्पनी दर्ता गरिँदो रहेछ । दर्ता गरिएको कम्पनी कानुनी रूपमा राम्रो देखिए पनि कार्य क्षेत्रमा फरक हुने रहेछ । त्यस्ता कम्पनीको डकुमेन्टमा सबै उल्लेख भए पनि कार्यक्षेमा लेखिएको हुँदैन । मानिसहरूलाई देखाउँदा दर्ता छौँ भनेर देखाइएको हुन्छ । तर काम चाहिँ अर्कै गर्ने रहेछन् । मानिसलाई लालच देखाउने, बोलाउने र बन्धक बनाएर पैसा असुल्ने गरिएको छ ।
लोभ लालच देखाएर ल्याए पनि खादा–माला लगाउने, मोटिभेसनल स्पिकरहरू ल्याएर स्पिच दिने, काउन्सिलिङ गर्ने व्यक्तिहरूलाई समेत ल्याएर ठुलै काम गराउनेजस्तो गरी प्रलोभनमा पारिने रहेछ । बिहान ४ बजे उठाएर पाँच घण्टासम्म हिँडाउने अर्थात् केही पनि सोच्न भ्याउन नसक्ने गरी व्यस्त बनाइँदो रहेछ । भारतमा पछिल्लो समय यसरी नै नेपाली युवाहरूलाई फसाउने र बन्धक बनाउने ट्रेन चलिरहेको छ ।
अवैधानिक रूपमा भारत हुँदै तेस्रो मुलुक लैजाने, खास गरेर महिलाहरूलाई खाडी पुर्याएर फसाउने पनि गरिएको छ । जसका लागि भारतलाई प्रयोग गर्ने गरिएको छ । हामीले २०१७ र ०१८ मा अलग अलग ठाउँबाट थुप्रै उद्धारहरू गरेका पनि छौँ । यो श्रृखंला हाल कम भए पनि भिजिट भिसा सुरु भएको छ । यसकै माध्यमबाट भारतलाई नै प्रयोग गरेर पठाउन सुरु गरिएको छ ।
भारत हुँदै अर्को देश लैजान भनेर भारतमा नौ महिनादेखि बन्धक बनाइएका तीन जना महिलाहरूलाई लिएर यस पटक नेपाल आएको हुँ । दुई तीन वर्ष पहिला पासपोर्ट लिएर १४ लाख देखि २८ लाखसम्म बुझाइएको, त्यसपछि उनीहरूलाई भारत लगेर पनि पैसा असुल्ने गरेको पाइयो । पीडितले पैसा दिन छाडेपछि फ्ल्याटमा लगेर बन्धक बनाएर राखेको पाइयो । फ्ल्याटमा नौ महिनासम्म बन्धक बनाएर राखिसकेपछि एक जनाले इमेल गरेका आधारमा हामीले उहाँहरूका बारेमा थाहा पाएका हौँ ।
दिल्ली प्रहरी, दूतावासलगायत सङ्घ संस्थाहरूमा इमेल भइसकेपछि लगभग २४ देखि ४८ घण्टा भित्रमा तीन जनालाई उद्धार गरेका हौँ । हाल नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा मुद्दा दर्ता गरिएको छ ।
बेचबिखनमा परेका, उच्च जोखिममा परेका सबै मानिसहरू महिला–पुरुष भन्ने छैन, सबै बन्धक बनाइएका हुन्छन् । उनीहरूलाई सहायता हामीले गरिरहेका छौँ । वा जोखिममा परेकालाई उद्धार गर्ने, भारतबाट नेपाल आएर हराएका बालबालिकाहरू उद्धार गर्ने गरेका छौँ । खास गरी यति बेला पुरुषहरू बन्धक बनाइने प्रचलन बढिरहेको छ । केही समय पहिला काश्मीरमा बन्धक बनाइएकालाई उद्धार गरिएको थियो । एक पटक ३५ जना, अर्को पटक २८ जनालाई उद्धार गरेका थियौँ । अहिले मानव जुनसुकै समयमा बेचबिखनमा पर्ने अवस्था छ ।
‘किन इन्डिया’ भन्ने हाम्रो संस्थाको संरचना भनेको दिल्लीमा छ । नेपालका संस्थाहरूसँग सहकार्य पनि गरिरहेका छौँ । उद्धार गरेर ल्याइसकेपछि नेपाल सरकारकै मातहतमा उनीहरूलाई पुनः स्थापना गर्ने वा पढ्न, सीप सिक्न, वा कानुनी सहयोगका लागि संस्थाहरू र प्रशासनहरूसँग मिलेर अगाडि बढ्न सहज बनाउने काम गरिरहेका छौ ।
समाजमा कुनै १४÷१५ वर्षको बालिका हराएकी छन् भने हाम्रो सोच कसैसँग भाग्यो वा बिहे गर्यो भन्ने छ । तर त्यो सोच गलत छ । कसैको प्रलोभनमा परेर फसेको पनि हुनसक्ने सम्भावना प्रबल छ । उद्धार गरेर नेपाल आइसकेपछि पनि उनीहरूलाई गर्ने व्यवहार त्यति राम्रो भएको पाइँदैन । यस्ता कुराहरूमा सुधार गर्नुपर्ने देखिन्छ ।
यस्ता गम्भीर प्रकृतिका घटनाहरू भइरहेको देख्दा सरकार आफैँ गम्भीर बन्नुपर्ने देखिन्छ । जिटुजी अर्थात् सरकार सरकारबीच कुनै सम्झौता गरेर छिटो उद्धार खोजी गर्ने काम गर्नुपर्छ । यस विषयमा नेपाल सरकारले भारतसँग कुरा गरेर यस्तो कामलाई सहजीकरण गर्नुपर्छ ।
नेपालको प्रहरी पनि भारत गएर ल्याउन नसक्ने, भारतको प्रहरी पनि नेपाल आएर लान नसक्ने जस्ता कारणले घटना गम्भीर भइरहेको छ । जस्तै भारतमा नेपालीहरूले केही अपराध गरेर नेपाल आएर बस्यो भने सरकारले सुपुर्दगी सन्धि नभएकाले अपराध गर्नेलाई पक्राउ गरेर जिम्मा दिन नमिल्ने भन्ने भन्ने छ । भारतमा पनि यही कानुन छ । यसले गर्दा पनि दलालहरूले धेरै फाइदा उठाइरहेका छन् । उनीहरूका एकदमै छुट्टै सञ्जाल छ, हरेक ठाउँमा आफ्नो मान्छे राखेका छन् र फसाउने काम गरिरहेका छन् । त्यस कारण जुनसुकै किसिमको अपराधी भए पनि पक्राउ गरेर ल्याउन सक्ने कानुन आवश्यक देखिएको छ ।
(भारतको नयाँ दिल्लीमा रहेको किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीसँग नेपाल न्यूज बैङ्कले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया