स्पेन : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति, भाषा र पहिचानलाई जोगाइराख्न आग्रह गर्दै ‘विदेशमा रहँदा पनि नेपालीपन नछाडौं’ भन्ने सन्देश दिएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनको प्रमुख अतिथिको रूपमा बोल्दै डा. महतले लोकतान्त्रिक परिवर्तनले नेपाली समाजमा ल्याएको रूपान्तरण, प्रवासी नेपालीहरूको भूमिकाको महत्व र सामाजिक सञ्जालको सकारात्मक–नकारात्मक प्रभावबारे विचार राखे।
नेपाली पहिचानको कुरा उठाउँदै उनले “Nepalese” शब्दको सट्टामा “Nepali” प्रयोगको औपचारिक निर्णय आफूले मन्त्री हुँदा गराएको स्मरण गर्दै भने, “अब हामी संसारभर ‘Nepali’ को पहिचानमा चिनिनुपर्छ। प्रवासमा पनि यो प्रयोग देख्दा गर्व लाग्छ।”
लोकतन्त्रले नेपालीलाई आत्मविश्वासी बनाएको उल्लेख गर्दै उनले आफ्नो अनुभव सुनाउँदै भने, “फुलब्राइट छात्रवृत्तिमा छनोट भए पनि २०४५ सालमा पासपोर्ट नपाएको थिएँ। २०४६ को जनआन्दोलन सफल भएपछि मात्र विदेश जान सकेँ।”
देशभित्र पर्याप्त अवसरको अभावले जनशक्ति पलायन भएको उनले बताए। “विदेशमा काम गरेर कमाएको पुँजी, अनुभव र सीप अब देश विकासमा फर्काउनु पर्छ,” उनले भने। दक्षिण कोरियालीहरूको उदाहरण दिँदै उनले मनले नेपालमा रहेका धेरै नेपालीले मौका पाउँदा स्वदेश फर्किने विश्वास पनि व्यक्त गरे।
सामाजिक सञ्जालले आम नागरिकलाई सशक्त बनाएको भए पनि गलत सूचना फैलन सक्ने खतरा रहेको उनले बताए। “सत्यको आवाज दबियो भने झुटो हाबी हुन्छ,” उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै चेतावनी दिए – “सत्य बुझेकाहरू चुप लागे देशका लागि खतरनाक हुन्छ।”
नेपालको विकास ढिलो भए पनि सही मार्गमा अगाडि बढिरहेको उनले उल्लेख गरे। “७५ वर्षअघि बाटो थिएन, आज प्रत्येक बच्चा स्कुल जान्छ। नेपालीको औसत आयु ५४ वर्षबाट ७३ पुगेको छ। गति ढिलो भए पनि बाटो ठीकतर्फै छ,” उनले भने।
प्रतिक्रिया