मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह

शुक्रबार, १६ साउन २०८२

वाग्मती। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

“उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्छ ”, आफ्नो र मुख्यमन्त्री लामाबिच मनमुटाब नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने।

बानियाँको नेतृत्वमा २१ सांसदहरूले तत्कालीन संसदीय दलका नेता तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्ताव पारित भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए।

तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि भएको निर्वाचनमा बानियाँ निर्वाचित भएका थिए। काँग्रेसका कूल ३७ सांसदमध्ये २२ जनाले बानियाँको पक्षमा मतदान गरेका थिए भने १४ जनाले तामाङलाई मतदान गरेका थिए । एक मत भने बदर भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार