विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।
कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको काम गरिएको छ। कोशी प्रदेश सरकार ,भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरेर अहिले रङ्गशालाको प्रारम्भिक चरणको काम भएको भद्रपुर क्रिकेट क्लबले जानकारी दिएको छ।
सो अवलोकन भ्रमणमा मुख्यमन्त्री कार्कीले मैदानको प्रारम्भिक चरणको काम राम्रो ढङ्गले बढेको बताउँदै यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो मैदानलाई करिब ८ हजार दर्शकले हेर्न मिल्ने गरी बनाउने तयारी गरिएको जनप्रतिनिधि तथा क्लबका पदाधिकारीले जानकारी दिए। मुख्यमन्त्री कार्कीले मैदानको राम्रो डिपिआर बनाएर काम अगाडि बढाउनको लागि क्लबलाई आग्रह गरे।
उनले डिपिआर पछि प्रदेश सरकारले कस्तो खालको सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल अगाडि बढाएर काम गर्ने बताए । उनले प्रदेश सरकार खेल क्षेत्रको विकास गर्न क्रियाशील रहेको बताउँदै यसका लागि त्यस क्षेत्रका नागरिक अगुवा र खेल प्रेमी हरूको पनि भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।
अवलोकन भ्रमणमा भद्रपुरमा नगरपालिकाका वडा अध्यक्ष मनोज सुब्बा र क्लबका अध्यक्ष आदित्य पराजुली लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया