लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

शुक्रबार, १६ साउन २०८२

 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रूपमा देखिएको बताएका हुन् ।

उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागूऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ ।’

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागूऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए ।

‘आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्नु छ । स्रोत साधनको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’उनले भने ।

लागू औषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसको देखिएको छ, उनले भने,  ‘लागूऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागू औषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

यस्तै गृहमन्त्री लेखकले लागू औषध व्युरोलाई विभागकै रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘लागूऔषध व्यूरोलाई विभागका रूपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’उनले भने ।

गृहमन्त्रीले लागूऔषध व्यूरोलाई विभागका रूपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए ।

कार्यक्रममा महानिरीक्षक थापाले लागूऔषध व्यूरोलाई विभागका रूपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार