काठमाडौं : नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गरिन् ।
कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक दुई देशका जनताबीचको अन्तरह्दय जोड्ने बताइन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक तथा कूटनीति सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
चीनका राजदूत सोङले नेपाल–चीनसम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताए । प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरू किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ ।
प्रतिक्रिया