मोरङमा घरभित्र भेटियो जरायोको सिङ, २ जना पक्राउ

सोमबार, १९ साउन २०८२

विराटनगर । मोरङको पथरीशनिश्चरेस्थित एउटा घरभित्र वन्यजन्तु जरायोको सिङ भेटिएको छ । जरायोको सिङसहित आइतबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय नीरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको बताए । विशेष सूचनाका आधारमा नीरज गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितको सिङ फेला परेको उनको भनाइ छ ।  

चिमरियाले गुरुङको घरबाट ३ जोर (६ वटा) सिङ बरामद भएको छ । गुरुङको घरमा इलाका प्रहरी कार्यालय पथरीका असई गुलजारी यादव नेतृत्वको टोलीले साँझ ५ः५० बजेतिर छापा हानेको थियो । यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । 

पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको छ । जरायोको सिङ कहाँबाट ल्याइएको थियो भनेर यकिन भइसकेको छैन । वन कार्यालयले थप अनुसन्धान अघि बढाएको छ । 

पक्राउ परेका विरुद्ध मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने सब डिभिजन वन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्णकुमार चौहानले बताए । दुवै जनाविरुद्ध वन्यजन्तुको अवैध आखेटोपहार सम्बन्धी मुद्दा चलाउने तयारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार