विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्रा सकेर फर्किंदै गरेको यात्रुबाहक गाडी दुर्घटनामा परेर ज्यान गुमाउने महिलाको पहिचान खुलेको छ ।
मृतक सिरहा जिल्लाको नहरा गाउँपालिका–३ की अन्दाजी २५–३० वर्षीया ममतादेवी यादव रहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका १६ जनामध्ये १० जनालाई गम्भीर अवस्था भएपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये सिरहा नहरा–५ की ३९ वर्षीया रन्जिता यादव, ७० वर्षीया सुस्मवती यादव, र ७० वर्षीय राज यादवको अवस्था गम्भीर रहेको छ । अन्य ६ जना सामान्य घाइतेको उदयपुरको घुर्मी सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
दुर्घटनालगत्तै गाडीका चालक सिरहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार रहेका छन् । उनको खोजी तथा घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किदै गरेको गाडी दुघटनामा परेको प्रहरीको भनाइ छ ।
विंगर गाडी प्रदेश २–०१–००१ ज ००५३ नम्बरको रहेकामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब २०० मिटर तल खसेको थियो । गाडी हलेसी दर्शन सकेर सिरहातर्फ फर्किंदै थियो ।
प्रतिक्रिया