‘बहुविवाहलाई कानुनी मान्यता दिन हुँदैन’

सोमबार, १९ साउन २०८२

काठमाडौं : वरिष्ठ अधिवक्ताहरूले बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति तीव्र आपत्ति जनाएका छन्। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले प्रस्तावित कानुनी मस्यौदाले नारी अधिकारमा प्रहार गर्ने भन्दै त्यसको चर्को विरोध गरे।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले महिलालाई दमन गर्ने खालको कानुन ल्याउनै नहुने स्पष्ट पार्दै भने, “मायाप्रेमका नाममा लोग्नेले अर्की महिलासँग सम्बन्ध बनाएर गर्भाधान गरायो भने, त्यसबाट जन्मिएको बच्चाकी आमा कानुनी रूपमा स्वास्नी हुने भनिएको कानुन समाज विघटनकारी र नारीद्वेषी हुन्छ।”

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहुविवाहलाई कानुनी मान्यता दिन खोज्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। “बहुविवाह सामाजिक भ्रष्टाचार हो,” उनले भने, “सभ्य र लोकतान्त्रिक समाजमा यसको कल्पना पनि गर्न सकिँदैन। यस्तो मस्यौदाको चौतर्फी विरोध आवश्यक छ।”

त्यस्तै, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राजनीतिक उद्देश्यबाट प्रेरित भई बहुविवाहलाई मान्यता दिन खोजिएको शंका व्यक्त गरे। “कुनै राजनीतिक दलले आफ्ना मुद्दा झेलेका कार्यकर्तालाई उन्मुक्ति दिन यस्तो कानुनी प्रस्ताव अघि सारेको हुन सक्छ,” उनले आरोप लगाए।

अधिवक्ताहरूले प्रस्तावित विधेयक खारेज गर्न माग गर्दै नागरिक समाज, महिला अधिकारकर्मी तथा सांसदहरूलाई समेत सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार