काठमाडौँ : बडिमालिका भीरबाट खसेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ । हाल गोकर्णेश्वर–५, काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा बिहीबार राति बडिमालिका मन्दिर छेउको भीरबाट करिब सात सय मिटर तल खोचमा खसेका थिए । उनको मृत्यु भएको र शव निकाल्ने प्रयास भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।
ओझा बिहीबार राति नै बडिमालिकाबाट फर्किने क्रममा भीरबाट लडेका हुन् । बडिमालिकामा कठिन भू–बनोट, चिप्लो र भिरालो बाटो छ । ‘दिउँसै हिँड्न त निकै कठिन हुन्छ, अँध्यारोमा हिँड्न सक्ने अवस्था नै हुँदैन,’ प्रजिअ पाध्याले भने, ‘मन्दिरमा पूजा गरेर राति नै तल त्रिवेणी फर्किँदै गर्दा भीरबाट खस्नु भएको भन्ने जानकारी छ ।’
बडिमालिकामा शुक्रबार बिहानैदेखि हजारौं भक्तजनहरू बडिमालिका पूजामा छन् ।
सेनाद्वारा पाँच सय बढीको उपचार
बाजुरामा अवस्थित बडिमालिका समुन्द्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा छ । शुक्रबार लाग्ने मेलाका लागि एक साताअघि देखि नै बडिमालिकामा हजारौंको संख्यामा पर्यटक तथा भक्तजन पुगेका छन् ।
त्यस क्रममा बिरामी परेका पाँच सय बढीको नेपाली सेनाले प्राथमिक उपचार गरेको जनाएको छ । बाजुरास्थित ईश्वरीबक्स गुल्मले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार गरेको हो । त्रिवेणी र बडिमालिका मन्दिरमा शिविर सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया