उदयपुरमा लाखे जात्रा भव्य रूपमा मनाइने

शुक्रबार, २३ साउन २०८२

उदयपुर : “हाम्रो संस्कृति, हाम्रो पहिचान : संस्कृति जोगाउने, हाम्रो अभियान” भन्ने नाराका साथ झीगु नेवाः पुचः उदयपुर गाईघाटले यस वर्ष पनि लाखे जात्रा पर्व साताव्यापी रूपमा मनाउने भएको छ।

नेवार समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले झीगु नेवाः पुचः, मिसा पुचः र अन्य उप–समितिहरूको संयुक्त आयोजनामा लाखे जात्रा पर्व आयोजना गरिँदैछ।

संघठनका सचिव गोपाल श्रेष्ठका अनुसार जात्रा साउन २४ गते शनिवार क्वाँटी पूर्णिमाको दिनबाट सुरु भई भदौ १ गते कृष्ण जन्माष्टमीका दिनसम्म मनाइनेछ। उनले जात्रामा नेवार समुदायका सम्पूर्ण परिवारहरूलाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरे।

कार्यक्रमको उद्घाटन साउन २४ गते त्रिनपा–१० स्थित बोक्सेमा भेला भई मोतिगडा, गैरुन, राजबास हुँदै भगवती मन्दिर र राधाकृष्ण मन्दिरमा पूजा तथा परिक्रमा गरेर गरिने छ।

कार्यवाहक अध्यक्ष विजय तुलाधरले भदौ १ गते कृष्ण जन्माष्टमीको दिन दिउँसो २ बजे राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरी गाईघाट बजार परिक्रमा गरिने र राति १० बजे नेवाः पुचःको भवनमा लाखे नाच सहित समापन समारोह आयोजना गरिने जानकारी दिए।

कार्यक्रम अवधिभर लाखे नाचसहित श्रेष्ठ समुदायका घर–घरमा पुगेर घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने भएको छ।

झीगु नेवाः पुचःले साउन २४ र भदौ १ गते विशेष रूपमा नेवारी पोसाकमा उपस्थित हुनसमेत सहभागीहरूमाझ अनुरोध गरेको छ। जात्रालाई भव्य, मर्यादित र सांस्कृतिक रूपमा सफल बनाउने तयारीमा आयोजकहरू जुटिरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार