'कुलिङ अफ पिरियड’ विवादपछि खतिवडालाई राजीनामा दिन निर्देशन दिने कांग्रेसको तयारी

शुक्रबार, २३ साउन २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।

संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा गरिएको चलखेलप्रति नैतिक जिम्मेवारी लिँदै खतिवडाले पद त्याग गर्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो। पार्टी सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठन भएको छानबिन समितिले खतिवडाको भूमिकामाथि प्रश्न उठाउँदै प्रतिवेदन पेश गरेको थियो।

राज्य व्यवस्था समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ कार्यान्वयन हुन नसक्ने गरी प्रतिनिधि सभाबाट पारित भएपछि खतिवडा विवादमा तानिएका हुन्। उक्त विषयमा पार्टीभित्र मात्र होइन, बाहिरी तहबाट पनि खतिवडालाई राजीनामा दिनुपर्ने आवाज उठेको थियो।

कांग्रेस स्रोतका अनुसार पार्टीले एक दुई दिनभित्रै खतिवडालाई राजीनामा दिन निर्देशन दिनेछ। पार्टी शीर्ष नेताहरूबीच यसबारे सहमति भइसकेको र सभापति शेरबहादुर देउवा स्वयं पनि खतिवडालाई पदमुक्त गर्नुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार