विपिन जोशीकाे खाेजीमा आमा र बहिनी इजरायल जाँदै

शुक्रबार, २३ साउन २०८२

काठमाडौं : प्यालेस्टाइनी लडाकु समूह हमासले अपहरण गरेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने प्रयासका रूपमा आगामी सोमबार उनीहरूलाई नेपालस्थित इजरायली दूतावासले इजरायल पठाउने तयारी गरेको किशोर जोशीले जानकारी दिएका छन्।

किशोरका अनुसार, “एम्बेसीले सोमबारको टिकट काटेको छ। आमा र बहिनीलाई लैजाने कुरा १०–१५ दिनअघि नै भनिएको थियो र सबै कागजात तयार भइसकेको छ।”

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याएर विपिनको रिहाइका लागि पहल र दबाब गर्ने योजना बनाएको छ। विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीका अनुसार, ‘राष्ट्रसंघमार्फत दबाबका साथै अमेरिकी राष्ट्रपतिसँग भेट गराउने योजना पनि छ।’

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुजबाट हमासले अपहरण गरेको थियो। 

हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो। हमासको आक्रमणपछि इजरायलमा फसेका नेपाली नागरिकलाई फिर्ता ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले तेल अविव पुगेर पहल गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार