भक्तपुर : जनैपूर्णिमा तथा रक्षा बन्धनको दिन भक्तपुरका नेवार समुदायका किसानले सदियौँदेखि जीवित राखेको एक अद्वितीय परम्परा आज पनि उत्साहपूर्वक मनाइएको छ। स्थानीय भाषामा ‘ब्यां चा जानका वानेगू’ (भ्यागुतो खाना खान जाने) भनेर चिनिने यस परम्परामा किसानले भ्यागुतालाई प्राकृतिक देवता मानी विशेष भोज खुवाउने गर्छन्।
परम्पराअनुसार किसानले गोलाकार काटिएका मूलाका चाना, भातका डल्ला, क्वाँटीलगायत विभिन्न परिकार ठूलो पातमा राखी, रक्षाबन्धनको धागो र सिन्दुरसहित खेतमा लैजान्छन्। त्यसपछि अलीमा बसेर भ्यागुतोलाई पाहुनाका रूपमा ‘आमन्त्रण’ गर्दै परिकार छाडिन्छ। भ्यागुता सामुन्ने नआए पनि धागो र सिन्दुर त्यहीँ छाडिन्छ र प्रतीकात्मक रूपमा सम्मान गरिन्छ।
स्थानीय संस्कृतिकर्मी प्रकाश धौभडेलका अनुसार भ्यागुताले खेतमा मल फिजाउने, बाली बिगार्ने कीटाणु खाने र बालीनाली संरक्षण गर्ने विश्वास रहेको छ। किसानले वर्षमा एक दिन यो योगदानको सम्मानस्वरूप भ्यागुतालाई भोज खुवाउने परम्परा कायम राखेका हुन्।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार यो परम्परा वैदिक कालदेखि मौलाएको हो। रिकवेदमा ‘मन्धुक रिचा’मा समेत भ्यागुताको उल्लेख छ, जसलाई मौखिक शिक्षा प्रणालीको प्रेरणास्रोत मानिन्छ।
धौभडेल भन्छन्, “महान् गुरुका रूपमा भ्यागुतो हाम्रो संस्कृतिमा छ, त्यसैले यो परम्परा निरन्तर चल्दै आएको हो।”
कृषि, संस्कृति र प्रकृतिप्रतिको सम्मानको प्रतीक यो अनौठो परम्पराले भक्तपुरको सांस्कृतिक पहिचान अझ बलियो बनाएको छ।
राससको सहयोगमा
प्रतिक्रिया