युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौँ : मुख्यमन्त्री शाह

मंगलबार, २७ साउन २०८२

घोडाघोडी (कैलाली) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताए । 

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले आज कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उनले युवा लागुपदार्थ दुव्र्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरूरी रहेको बताए । “पछिल्लो समय कुलत भाइरस जसरी फैलिरहेको छ । यसबाट बचाउनका लागि प्रत्येक जिल्लामा युवा सशक्तीकरणका कार्यक्रम अघि बढाएका छौँ”, मुख्यमन्त्री शाहले भने,“युवापुस्तालाई सही मार्गमा ल्याउनका लागि युवाहरूको पहलमार्फत नै विभिन्न कार्यक्रम ल्याएका छौँ । अब तिनको सही कार्यान्वयन गरिनुपर्छ ।”

नेपाली जनताको हकअधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरू रूपान्तरणको संवाहक भएको बताए । 
अहिलेको युवावर्गसँग जोडिएर सरकार अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उनले युवा शक्तिलाई सुदूरपश्चिमको विकास र समृद्धिसँग जोड्ने कुरामा सबै मिलेर अगाडि बढ्न आह्वान गरेका छन् । 

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले युवा शक्तिहरूलाई कसरी नेपालमै टिकाउन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताउदै उनले भने, “उद्योग, व्यवसाय,  कृषिलगायत क्षेत्रमा युवालाई उन्मुख गराउनका लागि एक पालिका दुई उत्पादनका कार्यक्रम ल्याएका छौँ । युवाको नवीन सोच र सिर्जनशीलतालाई कसरी यही ठाउँमा प्रयोग गर्न सकिन्छ भन्ने सोचका साथ हामी अगाडि बढिरहेको छौँ ।”

कार्यक्रममा कृषि क्षेत्रमा योगदान गर्ने  बर्दगोरीया गाउँपालिका–५ का कृषक कमलदेव चौधरी र विज्ञान क्षेत्रमा योगदान पु¥याएको भन्दै खगोलविज्ञ अरुण लोहारलाई जनही रु १० हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अरुणलाई बर्दगोरीया गाउँपालिकाले एक थान ल्यापटप र प्रदेश सरकारले प्रोत्साहन स्वरूप रु एक लाख प्रदान गर्ने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार