काश्मीरमा भीषण बाढी, ३४ जनाको मृत्यु, उद्धार कार्य चुनौतीपूर्ण

विहीबार, २९ साउन २०८२

भारतको काश्मीर क्षेत्रमा भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। स्थानीय प्रशासनका अनुसार किष्टवार जिल्लामा बिहीबार बिहान बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्ति जारी गर्दै किष्टवारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले प्रभावित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले हालसम्म ३४ शव फेला परेको र ३५ जनालाई उद्धार गरिएको जानकारी दिएका छन्। केही व्यक्ति अझै हराइरहेका छन्। नजिकैको अथोली गाउँका स्थानीय सुशील कुमारका अनुसार उनले आफ्नै आँखाले १५ मृतकलाई अस्पताल ल्याइएको देखेका छन्।

निरन्तर वर्षाले बाटोहरू अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या आइरहेको छ। घटनास्थल श्रिनगरबाट करिब २०० किलोमिटर टाढा भएकाले उद्धार टोलीको पहुँच कठिन बनेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। यसअघि अगस्ट ५ मा उत्तराखण्डको धाराली गाउँमा बाढी र पहिरोका कारण ७० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको थियो।

विशेषज्ञहरूले जलवायु परिवर्तन र अव्यवस्थित विकासलाई यस्ता विपद् बढ्नुको मुख्य कारण मान्दै आएका छन्। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (WMO) ले गत वर्ष चेतावनी दिँदै जलचक्र अझ अनियमित बन्दै गएको र बाढी–खडेरी जस्ता घटनाहरू तीव्र हुने चेतावनी दिएको थियो।

यो पनि :- जम्मु कश्मीरमा बादल फाट्यो , भीषण बाढीले धेरैको मृत्यु र भारी क्षति भएको अनुमान

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार