काठमाडौँमा निष्क्रिय विद्यालय खारेजी प्रक्रिया सुरु

शनिबार, ३१ साउन २०८२

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर लामो समयदेखि सञ्चालनमा नरहेका निजी (संस्थागत) विद्यालयहरूको अनुमति खारेज गर्ने तयारी थालेको छ ।

महानगरको शिक्षा विभागले स्थलगत अनुगमन गरेर सो विद्यालयहरूको दर्ता खारेजका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

उपप्रमुख सुनिता डङ्गोलका अनुसार महिला ज्योति, जायना र जेम्स नमुना विद्यालयलाई वैकल्पिक रूपमा स्थानान्तरण अनुमति दिइएको छ ।

त्यसैगरी २५ वटा विद्यालयलाई नाम परिवर्तनका लागि अनुमति दिइएको छ भने सामुदायिक र निजी विद्यालयहरूलाई कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व हेरफेर, सञ्चालनमा नरहेका विद्यालय खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरणजस्ता विषयमा शिक्षा समितिमा छलफल भइरहेको उपप्रमुख डङ्गोलले जानकारी दिइन् ।

रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ । पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई कक्षा १२ मा प्राविधिक धारअन्तर्गत सिभिल र कम्प्युटर इन्जिनियरिङ विषय थप गर्ने अनुमति प्रदान गरिएको छ ।

कामपाले १२ वटा विद्यालयलाई नयाँ विषय थप गर्ने अनुमति दिन लागिरहेको छ भने २१ वटा विद्यालयको नाम परिवर्तनका लागि पेस भएका कागजात स्वीकृत गरिएको छ ।

विद्यालय स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेस गर्ने जिम्मेवारी शिक्षा तथा स्वास्थ्य समितिलाई दिइएको छ ।

शिक्षा क्षेत्र सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलले विद्यालय सञ्चालनका मापदण्ड, सामाजिक तथा स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाबारे सुझावसहित प्रतिवेदन पेस गर्नेछ ।

यस्तै, प्रारम्भिक बाल विकासको अभिलेखीकरण र विधान दर्ताका लागि शिक्षा विभागले अध्ययन अघि बढाउने भएको छ । साथै, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको उपयोगिता र संशोधनबारे प्रतिवेदन १५ दिनभित्र पेस गर्ने तयारी महानगरले गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार