विराटनगर । मोरङ र सुनसरीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडी–रमिते भित्री सडक खण्डमा शनिबार दिउँसो मे २ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १० मिटर तल खसेर रुखमा ठोक्किँदा उर्लाबारी नगरपालिका–४ का १७ वर्षीय आरब डाँगीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याउँदा चिकित्सकले दिउँसो ४ः५० बजे मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा उर्लाबारीकै १७ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहामा को ३८ प १६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार त्यही स्थानका २१ वर्षीय आनन्द सिंह खवासको मृत्यु भएको छ । उनको उपचारका क्रममा विराट शिक्षण अस्पताल बूढीगंगामा दिउँसो ४ः२२ बजे निधन भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार रामधुनी–८ का २२ वर्षीय मुकेश साह, २२ वर्षीय दीपनारायण चौधरी र रामधुनी–९ का २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए ।
उनका अनुसार तीव्र गति र एकै मोटरसाइकलमा चार जना चढेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया