“मेरो सदस्यता कसैले खोस्न सक्दैन” : पूर्वराष्ट्रपति भण्डारी

सोमबार, ०२ भदौ २०८२

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा (एमाले)को सक्रिय र संगठित सदस्य भएको दाबी गर्दै आफ्नो सदस्यता कसैले खोस्न नसक्ने अडान सार्वजनिक गरेकी छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ४५ वर्षदेखि एमालेको सदस्य भएर निरन्तर सक्रिय रहँदै आएको स्मरण गराइन् । भण्डारीले भनिन्, “म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएकी हुँ र आज पनि त्यहीँ छु । कुनै विवाद उठ्ला, तर मेरो सदस्यता कसैले खोस्न सक्दैन ।”

पार्टी केन्द्रीय कमिटीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेको समाचारबारे भण्डारीले औपचारिक जानकारी नभएको दाबी गरिन् । उनले भनिन्, “पार्टीको औपचारिक कुरा मलाई थाहा भएन, किनभने म केन्द्रमा छैन ।”

यस क्रममा उनले हालै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भएको भेटलाई पनि सामान्य राजनीतिक संवादको रूपमा व्याख्या गरिन् । “उहाँ मोरङकै हुनुहुन्छ, म पनि त्यहीँ जन्म–हुर्केको । भेटलाई ठूलो हाउगुजी बनाउन आवश्यक छैन,” भण्डारीले स्पष्ट पारिन् ।

भोजपुर जन्म भएकी भण्डारीले आफूलाई “माझकिरातकी छोरी”को रूपमा प्रस्तुत गर्दै वाम एकताको सम्भावना कमजोर रहेको उल्लेख गरिन् । “सम्भावना छैन भन्न मिल्दैन । तर, म त्यति बलियो देख्दिनँ,” उनको भनाइ थियो ।

यसैबीच, कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई विमानस्थलमै पुगेर पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गरेकी थिइन् । पार्टी नेतृत्वले भण्डारीको पक्षमा बोल्न र कार्यक्रम गर्न प्रतिबन्ध लगाइरहेको अवस्थामा राईको उपस्थिति एमालेभित्रको असन्तुष्टि र राजनीतिक संकेतको रूपमा हेरिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग असन्तुष्ट देखिएकी राईको कदमलाई संस्थापन पक्षप्रति असहमतिको सन्देशका रूपमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार