बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र कालिकोटको पलाता गाउँपालिका घर भएकी २१ वर्षीया प्रिया बम (बुढा) बीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । प्रेम गाढा हुँदै गएपछि उनीहरूले गत बैशाखमा परिवारको इच्छाविपरीत गाउँबाट भागेर विवाह गरे ।
विवाह गरे पनि रमेश–प्रिया जोडीले तत्काल गाउँमा धुमधाम गरेर विवाह गर्ने सोच बनाएनन् । उनीहरूको लक्ष्य थियो— पैसा कमाउने, त्यसपछि मात्र धुमधामसहित विवाह समारोह आयोजना गर्ने । त्यसकै लागि उनीहरू घरबाट भागेर भारत पुगे ।
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा पुगेर उनीहरूले ज्याला–मजदुरी सुरु गरे । दिनरात मेहनत गर्ने उनीहरूलाई कमाइ पनि राम्रै भएको थियो । रमेशले आफ्ना बृद्ध बुबाआमाको उपचार गर्ने र प्रियाले धुमधामसहित विवाह गर्ने योजना मनमा बोकेकी थिइन् ।
तर, उनीहरूको जीवन योजनामा दैवले भयंकर खेल खेल्यो । साउन २० गते राति आएको भीषण बाढी–पहिरोले धराली गाउँ तहसनहस बनायो । सोही विपत्तिमा रमेश र प्रिया दुवै पहिरोमा परेर बेपत्ता भए ।
“बिहे गरेको ४ महिना मात्रै भएको थियो, उनीहरू दुवै जना ठूलो सपना बोकेर भारत गएका थिए,” स्थानिय पन्देवा बुढाले भावुक हुँदै भनिन्, “तर त्यही सपना पूरा गर्न नपाउँदै दैवले सदाका लागि छिन्यो ।”
परिवार र गाउँलेहरूका लागि रमेश–प्रियाको प्रेमकथा अब सम्झनाको मात्र विषय बनेको छ । उनीहरूले कल्पना गरेको धुमधामसहितको विवाह समारोह अब कहिल्यै सम्भव हुनेछैन ।
प्रतिक्रिया