विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ जना महिला र ३ जना पुरुष रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार उनीहरु सबै भारतीय नागरिक हुन् । विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो । अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ भइरहेको छ ।
रथयात्राको भिडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको प्रारम्भिक आशंका गरिएको छ । डीएसपी चुँडालले विराटनगरमा हजारौं भक्तजन सहभागी हुने रथयात्रालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइन् ।
उनका अनुसार ड्रोन र सीसी क्यामेराजस्ता प्रविधिको प्रयोग गरेर निगरानी बढाइएको छ । ठूलो संख्यामा हतियारसहित र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
यसैबीच, विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे ऐतिहासिक रथयात्रा सुरु हुँदैछ । अहिले मन्दिरको गेटमा रथलाई सजाउने काम भइरहेको छ । वैदिक विधिअनुसार पूजापाठ गरी राधाकृष्णको प्रतीमा राखेर रथलाई नगर परिक्रमा गराइने समितिले जनाएको छ ।
यसपटक नयाँ रथ निर्माण गरी यात्रा गरिँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूजाआराधना गरेपछि रथयात्रा सुरु हुने छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिँदै आएको छ ।
प्रतिक्रिया