इटहरीका स्वास्थ्य संस्थामा नाम मात्रकै २४ घण्टे सेवा : सहज भए उपचार नभए ‘रेफर’

आइतबार, ०१ भदौ २०८२

इटहरी : गत साउन ४ गते इटहरीस्थित ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको ज्यान गयो । पौडी खेल्ने क्रममा डुबेर शक्त घाइते भएका उनीहरूको विराटनगरको नोबेल र विराट टिचिङ अस्पतालमा ज्यान गएको हो ।

विराटनगर पूर्याउनुअघि बालकलाई सुरुमा इटहरी मै रहेको वेदान्त हस्पिटलमा भर्ना गरिएको थियो ।

वेदान्तले उपचार गर्न नसक्ने भएर विराटनगर रेफर गरेपछि विराट टिचिङ अस्पताल पुराउनसाथ बालकको ज्यान गएको हो । अर्का बालकको भने नोबेल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

घाइते भएका उनीहरूलाई तत्काल उपचार र उद्धार सम्भव भएको भए बालकको ज्यान जोगिन सक्ने स्थानीयको भनाई छ । 

यी दुई बालकको घटनाले इटहरीमा हुने विभिन्न दुर्घटना र आकस्मिक बिरामीहरूको अवस्था झल्काउँछ।

इटहरीका अस्पतालहरूमा आवश्यक उपचार सम्भव नभएपछि बिरामीहरूलाई बिराटनगर र धरान लैजाँदा धेरैको मृत्यु भइसकेको सयौँ घटनाहरू बाहिर आएका छन ।

इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार इटहरीको स्वास्थ्य क्षेत्रमा आवश्यक सुविधा मात्र नभई दक्ष जनशक्तिको समेत अभाव देखिएको छ।

प्रदेश खबरसँगको कुराकानीका क्रममा सुवेदीले भने,‘यहाँ सामान्य उपचार मात्रै हो । विशेषज्ञ उपचाकोलागि पूर्वको केन्द्रमा रहेको इटहरीले धरान विराटनगर धाउनुपर्ने त इटहरीको चिन्ताको विषय हो ।’

वडाध्यक्षकै भनाइलाई केलाउँदा पनि इटहरीमा सुविधा सम्पन्न अस्पतालको अभाव रहेको छ ।

कोशी प्रदेशको प्रमुख सहरी केन्द्रका रूपमा तीव्र गतिमा विकसित भइरहेको इटहरी अहिले पनि आधुनिक, सर्वसुलभ र सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सुविधा सम्पन्न अस्पतालको अभावमा आक्रान्त छ ।

करिब दुई लाख (१ लाख ९७ हजार २४१) जनसङ्ख्या रहेको इटहरीमा अझैसम्म सर्वसुलभ सुविधा सम्पन्न अस्पतालको अभाव छ । यही कारण, यहाँका बासिन्दाले स्वास्थ्य उपचारमा असुविधा भोग्नुका साथै, स्थानीयहरू आफैँलाई नै “बिरामी बनाइरहेको अवस्था” भोगिरहेको बताएका छन् ।

‘अस्पतालै नभएका होइनन् तर भएकामा विशिष्ट सेवा छैनन् । हप्ता दिनमा बाहिरबाट आउने डाक्टरले सेवा दिनुपर्ने अवस्थाले कसरी स्वास्थ्य क्षेत्रको विकासमा टेवा पूर्याउँछ र नागरिकले स्वास्थ्य सेवामा पहुँच पूर्याउन सक्छन् ।’ इटहरीका एक व्यवसायी भन्छन् ।

उनका अनुसार अस्पताल सञ्चालन हुन सहर भएर मात्रै हुँदैन । मेडिकल कलेज, अन्य अस्पतालहरू, इटहरी अस्पतालको विकाश र मानिसहरूको भरोसा समेत आवश्यक छ । गोठगाँउमा भएको भएको मेडिकल कलेज मात्रै सञ्चालनमा आउन सकेमा इटहरी क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा धेरै सुधार हुन सक्ने उनी बताउँछन् । 

निजी अस्पताल सञ्चालकहरूले आफ्नो संस्थाले दक्ष जनशक्ति उपलब्ध गराउँदै आएको दाबी गर्छन्। तर, उनीहरूका अनुसार स्थानीय तहमा अझैपनि "यहाँ उपचार हुँदैन" भन्ने नकारात्मक मानसिकता विद्यमान छ। इटहरीस्थित वेदान्त हस्पिटलका निर्देशक इन्द्र श्रेष्ठ भन्छन्, “कुनै घटना घटेपछि तुरुन्तै ‘अस्पतालले मार्यो’ भन्ने आरोप लगाइन्छ। यस्तै मानसिकताका कारण हामी कुनै पनि जोखिमपूर्ण उपचार प्रक्रिया अपनाउन सक्ने अवस्था हुँदैन।”

उनले यस्तो दाबी गरे पनि, आफ्नै अस्पतालले २४ घण्टा बिशेषज्ञ डाक्टरको सेवा दिने विज्ञापन गर्दै आएको भए पनि, क्रिटिकल बिरामी आएपछि सेवा दिन नसकिने भन्दै अन्तै लैजानु भन्ने गरेको स्थानीय बताउँछन्।

स्थानीय सरकारको प्रयास समेत अपुग

इटहरी उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा केही पहलहरू थालेको दाबी मेयर हेमकर्ण पौडेलले गर्ने गरेका छन् । सार्वजनिक कार्यक्रमको भाषणमा उनका अभिव्यक्तिले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको दाबी हुने गर्दछ । तर, उपमहानगरपालिकाकै कर्मचारीहरूको भनाइमा निर्माणको क्रममा रहेको इटहरी अस्पतालको काम समेत अलपत्र अवस्थामा रहेको छ । 

स्वास्थ्य महाशाखा प्रमुख दिनेशकुमार चौधरी भन्छन्,‘जुन हिसाबले अस्पतालको काम हुनुपर्ने हो त्यो भईहरको अवस्था छैन । सम्झौता अनुसार काम भएको भए यस बेला सम्पन्न भइसकेर सञ्चालनमा आउनुपर्ने हो । तर काम नहुँदा समस्या भएको छ ।’

निर्माणाधीन अवस्थामा रहेको अस्पताल भवनको काम थपेको म्याद सकिँदासम्म पनि ६० प्रतिशत मात्र सम्पन्न भएको अवस्था छ । इटहरी उपमहानगरपालिकाका पूर्वाधार निर्माण शाखाका इन्जिनियर जीवन घिमिरेले थपिएको म्यादको काम पनि असार मसान्तमा सकिएको जनाए । 

कामको जिम्मेवारी पाएको ठेकेदार कम्पनी प्रतिष्ठा गिरि जेभीले समयमै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको थियो । तर बजेट अभावका कारणले समेत काममा ढिलासुस्ती भइरहेको छ । त्यस कारण पनि अस्पताल निर्माणका लागि पुनः म्याद थपको तयारी भइरहेको छ ।

अस्पताल निर्माणको जिम्मा पाएको जेभिका सञ्चालक कुमार गिरीले अस्पताल समयमै निर्माण गर्न नसकेको स्वीकार गरेका छन्। गिरीका अनुसार, निर्माणका क्रममा आवश्यक पैसा समयमा नआएका कारण काममा ढिलाइ भएको हो।

उनी भन्छन्,“जता ततै पैसा रोकिएको छ, इटहरीमा पनि रोकियो। त्यसैले आफैँसँग समेत पर्याप्त पैसा नभएकोले अस्पतालको काम समयमै सम्पन्न गर्न सकिनँ।”

इटहरी अस्पतालको निर्माणपछि केही हदसम्म स्वास्थ्य सेवा पहुँच र सुविधाको आशा गरिए पनि यसको अन्यौलताले इटहरीवासीले कहिलेसम्म सेवाबाट वञ्चित हुनुपर्ने हो अझै स्पष्ट छैन । 

वडाध्यक्ष सुवेदीका अनुसार, उपमहानगरपालिकाको नेतृत्वले आवश्यक समन्वय नदिँदा स्वास्थ्य सेवा क्षेत्रमा समस्या उत्पन्न भएको छ।

इटहरी उपमहानगरपालिकामा हाल २२ वटा सरकारी अस्पताल तथा साना प्राथमिक स्वास्थ्य केन्द्रहरूले सेवा दिँदै आएका छन्।

यसबाहेक, सान्वी सिटी अस्पताल, ओम साइ मनकामना आरोग्य, पञ्चकोशी हेल्थ सर्भिस, बिपी मेडिको, इटहरी मेडिकल, सामुदायिक अस्पताल,वेदान्त अस्पताल,अधिकारी मेडिकल,पशुपति मोडल हस्पिटल, प्रणामी अस्पताल लगायतका निजी अस्पताल तथा मेडिकलले सेवा प्रदान गर्दै आएका छन्।

यि मेडिकल र अस्पताल बाहेक इटहरी उपमहानगरपालिकामा अन्य कति सङ्ख्यामा अस्पताल सञ्चालनमा रहेका छन त्यो पूर्ण तथ्याङ्क इटहरीमा स्वास्थ्य शाखामा समेत छैन ।

तर, निरन्तर बढ्दो जनसङ्ख्या, व्यापारिक महत्त्व र क्षेत्रीय प्रभावको दृष्टिले इटहरीमा आधुनिक र विशेषज्ञ सेवा सम्पन्न अस्पतालको आवश्यकता हुनुको बाबजुद, हालका कुनै पनि अस्पताल यसका लागि योग्य देखिएका छैनन्। जसका कारण, इटहरीका सर्वसाधारणहरू सामान्य बिरामी परेमा समेत धरान वा विराटनगरका ठुला अस्पताल धाउन बाध्य छन्।

जलन अस्पतालको समेत छैन अत्तोपत्तो 

सुनसरीको इटहरीमा बन्ने भनिएको जलन अस्पताल निर्माणको समेत अत्तोपत्तो छैन । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रस्टबिच सम्झौता भएको डेढ वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको सुरुवात हुन सकेको छैन । 

प्रदेश सरकारले इटहरी लगायत कोशी प्रदेशकै नागरिकलाई सहज होस भनेर २०८० पुस २५ गते ट्रस्टबिच अस्पताल निर्माणका लागि सम्झौता गरेको थियो ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीको अग्रसरतामा भएको सो योजना कार्यान्वयनको पक्ष कमजोर हुँदा आगलागीका घटनाका पीडितले समेत विशेष उपचार पाउन सकिरहेका छैनन् । 

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार इटहरीमा बन्ने भनिएको जलन अस्पताल निर्माणको काम प्रक्रियामै रहेको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार अस्पतालका लागि भनेर यो आर्थिक वर्षमा बजेट समेत विनियोजन भएको अवस्था छैन । यता ट्रस्टका अधिकारीका अनुसार आवश्यक सहजीकरण समेत नहुँदा समस्या भइरहेको छ ।

अस्पताल सेवा मात्रै हैन प्रतिष्ठा समेत हो 

स्वास्थ्य क्षेत्रमा काम गर्नेहरू सुविधा सम्पन्न अस्पताल केवल नागरिकको सेवा मात्रै नभई प्रतिष्ठाको विषय समेत रहेको बताउँछन् । जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका विज्ञ कैलाश खाकी श्रेष्ठ सुविधा सम्पन्न अस्पतालले सो क्षेत्रको आर्थिक चलायमान समेत बनाउने र एउटा क्षेत्रको प्रतिष्ठाको विषय समेत रहने बताउँछन् । 

सुविधा सम्पन्न अस्पताल पर्यटक आकर्षण गर्ने केन्द्र बन्न सक्दछ । अर्कोतर्फ इटहरीलाई गुणस्तरीय स्वास्थ्य सेवाको आवस्यक्ता खट्किरहेको छ ।

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार