रौतहटमा कृष्णजन्माष्टमी मेलामा झडप : नगरप्रमुखसहित पाँच घाइते, मेयरलाई १७ टाँका लगाइयो

शनिबार, ३१ साउन २०८२

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिवार आयोजित कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबिच विवाद चर्किएपछि झडप भएको छ।

झडपमा परी नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएका छन्।

नगरप्रमुखको पक्षले मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने अडान राखेपछि अर्को पक्षले आपत्ति जनाउँदा वादविवाद हाताहातीमा परिणत भएको हो। स्थिति नियन्त्रण गर्ने क्रममा प्रहरी पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मेयर कानुको टाउकोमा १७ टाँका लागेका छन्। यस्तै, प्रहरी जवान जगदीश राय यादवको गालामा ५ टाँका, प्रहरी जवान धनसुन्दर ठाकुरको टाउकोमा ४ टाँका लागेको छ।

स्थानीय रामविकाश साह र श्याम विनय साह सामान्य घाइते भएका छन्। सबै घाइतेहरूको उपचार गरुडास्थित निजी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

यसैबिच, घटनामा संलग्न भएको आरोपमा स्थानीय राधामोहन साह, विनोद साह र ऋतिक साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ।

हाल घटनास्थल शान्त रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार