कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगमा कारबाही

सोमबार, ०९ भदौ २०८२
सांकेतिक फाईल

कुवेतमा विषाक्त मदिरा सेवनका कारण १३ नेपालीसहित २३ जना आप्रवासी कामदारको ज्यान गएपछि त्यहाँको सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालविरुद्ध ठूलो अभियान चलाएको छ ।

दुई साताअघि भएको घटनामा १६० भन्दा बढी बिरामी परेका थिए । त्यसलगत्तै कुवेती अधिकारीहरूले अवैध मदिरा उत्पादन गर्ने कारखानाहरूलाई रसायन आपूर्ति गर्ने प्रमुख गोदाम अल–राई क्षेत्रमा छापा मारेर नियन्त्रणमा लिएका छन् । हावाली अनुसन्धान विभाग अन्तर्गतको आपराधिक अनुसन्धान शाखाले सञ्चालन गरेको उक्त कारबाहीमा ३४० भन्दा बढी प्लास्टिक कन्टेनरमा भण्डारण गरिएका विषाक्त रसायन बरामद भएका थिए ।

गोदाम हाल इजिप्टमा रहेका एक नागरिकको स्वामित्वमा रहेको पाइएको छ । उनीविरुद्ध कानुनी कारबाहीका लागि इजिप्टका अधिकारीहरूसँग समन्वय भइरहेको अरब टाइम्सले उल्लेख गरेको छ ।

जीवन–सम्पत्तिमा खतरा

बरामद गरिएको विषाक्त रसायन असुरक्षित स्थानमा जथाभावी राखिएकोले आगलागी वा विस्फोटको उच्च जोखिम रहेको अधिकारीहरूले जनाएका छन् । चुहावट भएमा विषाक्त ग्यास वा वातावरणीय प्रदूषण फैलने खतरा समेत थियो । यस जोखिमलाई नियन्त्रण गर्न जनरल फायर फोर्सले स्थल सुरक्षित गरेको बताइएको छ ।

आप्रवासीमाथि कारबाही

यसैबीच, फरवानिया सुरक्षा निर्देशनालयले छापा मार्ने क्रममा ५२ जना आप्रवासीलाई पक्राउ गरेको छ । उनीहरू आवासीय कानुन उल्लङ्घन र अवैध मदिरा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

यस्तै, हसावी र जलीब अल–शुयुख क्षेत्रहरूमा स्थानीय रूपमा उत्पादन गरिएको रक्सी प्रचार–प्रसार गरेको अभियोगमा तीन जना आप्रवासी पक्राउ परेका छन् । उनीहरूको साथबाट बिक्रीका लागि तयार २३ बोतल रक्सी बरामद गरिएको छ । पक्राउ परेकाले आफ्नै निवासमा रक्सी उत्पादन गरी ग्राहकलाई बिक्री गरेको स्वीकार गरेका छन् । उनीहरूलाई कालोसूचीमा राखी देशनिकाला गरिने कुवेती अधिकारीहरूले बताएका छन् ।

२५८ जना पक्राउ

गृहमन्त्रालयले हालसम्म आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा २५८ जना आप्रवासीलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकामध्ये नेपाली, भारतीय, बंगलादेशीसहित विभिन्न देशका आप्रवासी रहेका छन् ।

कुवेती सञ्चारमाध्यमहरूले अवैध मदिरा उत्पादन र वितरणको मूल जड तहसनहस गर्न सुरक्षाकर्मी सफल भएको जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार