उदयपुरमा नयाँ शिक्षा ऐनविरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलित

विहीबार, १२ भदौ २०८२

उदयपुर : नयाँ शिक्षा ऐनमा समावेश गरिएका प्रावधानहरूको विरोधमा उदयपुरका निजी विद्यालय सञ्चालकहरूले बुधवार गाईघाटमा बृहत् अन्तरक्रिया सम्पन्न गरेका छन्।

‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यालय सञ्चालकहरूले सरकारले ल्याउन लागेको विधेयक निजी विद्यालयको हितविपरीत रहेको भन्दै आपत्ति जनाए।

अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार र विद्यालय सञ्चालकहरूको सहभागिता थियो। कार्यक्रममा बोल्ने विद्यालय सञ्चालकहरूले निजी विद्यालयलाई सहज वातावरण सिर्जना गर्नुपर्नेमा उल्टै कडा नियम ल्याउन लागिएको भन्दै चिन्ता व्यक्त गरे।

उनीहरूले शिक्षा विधेयकका केही विवादास्पद बुँदाहरू तत्काल सच्याउन मागसमेत गरे।

विशेषगरी, ‘निजी विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश हटाउनुपर्ने माग गरिएको छ। त्यस्तै, ‘पूर्ण छात्रवृत्ति’ को सट्टा हाल प्रचलनमा रहेको १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क मात्र समावेश गर्नुपर्ने विद्यालय सञ्चालकहरूको धारणा थियो।

कार्यक्रम प्याब्सन उदयपुरका अध्यक्ष लक्ष्यजंग ठकुरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सचिव जनक कार्की रहेका थिए।

अन्तरक्रियाले निजी विद्यालयहरूको सरोकार र सरकारले ल्याउन लागेको शिक्षा विधेयकबिचको असन्तोष झल्काएको सरोकारवालाहरूले टिप्पणी गरेका छन्।

 

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार