कुवेतमा विषाक्त मदिरा सेवनपछि १६० जना बिरामी परेका र २३ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये १३ जना नेपाली रहेका छन्।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार घटनापछि ५१ जनालाई तत्काल मिर्गौला डायलाइसिसको आवश्यकता परेको थियो भने ३१ जनालाई भेन्टिलेटरमा राखिएको थियो।
कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल–मुसावीका अनुसार सघन उपचार कक्षमा भर्ना भएका करिब २० जनामध्ये १२ जनालाई ब्रेन डेड घोषणा गरिएको थियो। तीमध्ये १० जनाको परिवारले अंगदानमा सहमति जनाएका थिए।
चिकित्सकहरूले ती दाताबाट २० वटा मिर्गौला, ३ वटा मुटु, ४ वटा कलेजो र २ वटा फोक्सो संकलन गरेका थिए। फोक्सोबाहेक सबै अंगको सफल प्रत्यारोपण भएको कुवेती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पछिल्ला पाँच दिनमै ३ वटा मुटु प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन्।
यस घटनापछि अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ। साथै, आवासीय तथा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा थप २५८ जनालाई नियन्त्रणमा लिइएको कुवेतको गृहमन्त्रालयले जनाएको छ।
कुवेती सुरक्षाकर्मीहरूले विषाक्त रसायन आपूर्ति गर्ने प्रमुख गोदाम अल–राई क्षेत्रमा छापा मारेर नियन्त्रणमा लिएको समेत बताइएको छ। अस्पतालबाट डिस्चार्ज भएका केही विदेशी आप्रवासी श्रमिकलाई पक्राउ गरी देश निकाला गरिएको पनि प्रहरीले पुष्टि गरेको छ।
डा. मुसावीले मृतक दाताबाट प्राप्त अंगलाई “अनन्त परोपकार”को प्रतीक भन्दै यसलाई उच्च प्राथमिकतामा राखिएको बताए।
प्रतिक्रिया