काठमाडौं : नेपाल मानव अधिकार आयोगले देशभर भइरहेको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै पछिल्लो पुस्ताले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ।
आयोगका अनुसार फेसबुक, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी समूहको आह्वानमा आज काठमाडौंसहित पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरमा प्रदर्शन भएका थिए।
अनुगमन टोलीका अनुसार काठमाडौंको माइतीघरबाट सुरु भई संसद भवनतर्फ बढेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोलीसमेत चलाएको छ। यस क्रममा दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु र धेरैजना घाइते भएको जानकारी आयोगलाई प्राप्त भएको छ। आयोगले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
आयोगले संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनले दिएको स्वतन्त्र अभिव्यक्ति र शान्तिपूर्ण आन्दोलनको अधिकार सुरक्षित गर्न सरकारलाई निर्देशन दिएको छ। विज्ञप्तिमा भनिएको छ–
“यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ। सरकारलाई अनुरोध छ कि प्रदर्शनमा बल प्रयोग नगरी शान्तिपूर्ण समाधान खोजियोस्। मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्नुपर्छ र घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ।”
त्यस्तै आयोगले प्रदर्शनरत पक्षलाई पनि आफ्नो आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र संयमित राख्न आग्रह गरेको छ।
प्रतिक्रिया