जेन–जी आन्दोलनमा दमनप्रति माओवादीको आपत्ति : “सरकारको औचित्य सकियो”

सोमबार, २३ भदौ २०८२

जेन–जी आन्दोलनमा भएको दमनपछि मुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको औचित्यमाथि प्रश्न उठाएको छ । आन्दोलन नियन्त्रणका क्रममा डेढ दर्जन युवाको मृत्यु र दुई सयभन्दा बढी घाइते भएको घटनालाई माओवादीले गम्भीर भन्दै सरकार अब रहिरहनु नपर्ने निष्कर्ष निकालेको हो ।

गोरखाको आरुघाटमा भइरहेको मध्यपहाडी राजमार्ग अभियानलाई स्थगित गर्दै आकस्मिक रूपमा बसेको पदाधिकारी बैठकमा माओवादी नेताहरूले आन्दोलनकारी युवामाथि भएको गोली प्रहार र त्यसबाट भएको ठूलो क्षतिप्रति आपत्ति जनाएका छन् ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, “जायज माग र सपना बोकेर आन्दोलनमा उत्रिएका युवाहरूमाथि गोली चलाएर डेढ दर्जन युवाको हत्या र सयौँलाई घाइते बनाएको अवस्थाले सरकारको औचित्य सकिएको छ । युवाहरूमाथि गोली प्रहार गरी जनआन्दोलन–२ मा भन्दा बढीको मृत्यु भएको छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष आक्रमण गर्दै थपे, “यदि यो संघीय लोकतान्त्रिक व्यवस्था जोगाउने हो भने ओलीले तत्काल सरकार छाड्नुपर्छ, र संसद्‌बाटै यसको निकास निकाल्नुपर्छ।”

माओवादीले मंगलबार बिहान बस्ने पदाधिकारी बैठकमार्फत औपचारिक निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार