हामीलाई कुनैपनि छलफलमा अहिलेसम्म बोलाइएको छैन् । पछिल्लो समय मन्त्री बनाउनका लागि विभिन्न समितिहरूमा छलफल भइरहेको छ । त्यसमा मृतक परिवारको तर्फबाट प्रतिनिधि राख्नैपर्छ । किनकि यो सरकार मृतक परिवार र मृतक सहिदहरूको रगतबाट बनेको सरकार हो । यसमा हाम्रो अनिवार्य सहभागिता हुनुपर्छ ।
मनीषा बस्नेत
काठमाडौँ : जेनजी आन्दोलनका मृतक तथा पीडित परिवार यतिवेला समस्यामा छन् । आर्थिक स्थितिले कमजोर रहेका पीडित परिवार सरकारबाट पाउने भनिएको काजक्रिया खर्च समेत समयमा नपाउँदा झनै समस्यामा परेका हुन् ।
जेनजी आन्दोलन मृतक तथा पीडित परिवार संर्घष समिति संयोजक कमल सुवेदीका अनुसार सरकारले दिने भनिएको खर्च कार्यान्वयनका लागि सामान्य छलफल समेत गरेको छैन् । जसका कारण पीडित परिवार सरकारले बेवास्ता गरेको महसुस गरिरहेका छन् ।
उनले भने, ‘अहिलेको समस्या के हो भने मृतक परिवार मध्ये धेरैको आर्थिक स्थिति कमजोर छ । उहाँहरूबाट मलाई फोन आइरहेको छ । विभिन्न परिवारहरूबाट सामान्य काजक्रिया गर्न समेत आर्थिक समस्या भयो भनिरहनुभएको छ ।
सरकारबाट काजक्रिया खर्चबापत एक लाख रुपैयाँ छुटाउने भन्ने निर्णय भयो, तर कार्यान्वयन प्रक्रिया अघि बढेको छैन् । छलफल पनि भएको छैन् । यस्तो तरिकाले रकम कहिले सम्बन्धित व्यक्तिसम्म पुग्ने भन्ने टुङ्गो लागेको छैन् ।’
उनले पीडित परिवारलाई काजक्रिया गर्न खर्च तत्काल आवश्यकता परिसकेको तर निर्णय कार्यान्वयन गरेर आउन नसक्दा स्थिति अन्योल बन्दै गइरहेको छ ।
अन्तरिम सरकार गठन गरिरहँदा समेत सरकारले कुनैपनि छलफलहरूमा पीडित परिवारलाई नसम्झेको उनको गुनासो छ ।
‘हामीलाई कुनैपनि छलफलमा अहिलेसम्म बोलाइएको छैन् । हामीलाई कुनैपनि छलफलमा निम्ता आएको छैन् । पछिल्लो समय मन्त्री बनाउनका लागि विभिन्न समितिहरूमा छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसमा मृतक परिवारको तर्फबाट प्रतिनिधि राख्नैपर्छ । किनभने यो सरकार मृतक परिवार र मृतक सहिदहरूको रगतबाट बनेको सरकार हो । हामी नै त्यसमा समावेश हुँदैनौँ भने त्यसको केही पनि अर्थ रहँदैन ।’
सुवेदीका भनाइहरू
मेरो आफ्नो भान्जा रोशन न्यौपाने, बानेश्वरमा शहादत प्राप्त गरे । उनलाई टिचिङ अस्पतालमा लगिसकेपछि, त्यहाँ अन्य लासहरू आउने क्रम सुरु भयो । त्यसपछि पीडित परिवारहरू सबैलाई हामी सबै मिलेर मिलेर ऐक्यबद्धता गरेर एक ढिका बनाउन थाल्यौँ । अधिकारका लागि सङ्घर्ष गर्दै गयौँ । सबै एकताबद्ध हुँदै गएपछि १५ बुँदे मागहरू राखेर प्रेस मिट गर्यौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग बसेर मौखिक रूपमा छलफल गर्यौँ । सोहीबेला हाम्रा मागहरू पूरा गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
त्यसको भोलिपल्ट सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयबाट छाप लगाइसकेपछि, मुख्य सचिवबाट आवश्यक कारबाही अघि बढाउने भन्ने छलफल भएछ । हामीले राखेका बुँदाहरूमा राष्ट्रिय सहिद घोषणा गर्ने, शोक दिवस मनाउने, शव यात्रा गर्नेलगायतका निर्णयहरू भएका थिए । तर अहिले समस्या के आइरहेको छ भने, मृतक परिवारहरूमध्ये धेरै जना आर्थिक स्थिति कमजोर भएकाहरू हुनुहुँदो रहेछ ।
उहाँहरूलाई काज किरियालगायतको खर्च आवश्यक परेको छ । सामान्य खर्च गर्ने क्षमता समेत भएन भनेर भनिरहनु भएको छ । सरकारले प्रतिबद्धता जनाएको एक लाख रुपैयाँ भुक्तानी लिने प्रक्रिया समेत अघि नबढ्दा निराश बनाएको छ । त्यसले एक किसिमको अन्यौलता सिर्जना गराएको छ ।
सरकारले हाम्रा मागहरू मुख्य सचिवले प्रधानमन्त्रीको रोवरमा आवश्यक कारबाही अगाडि बढाउने भनिएको छ । तर काम केही भएको छैन् । पीडितहरू प्रायजसो काठमाडौँ उपत्यका बाहिरको हुनुहुन्छ । उहाँहरूकोसम्म पुग्नलाई फेरि कानुनी प्रक्रिया हिसाबले लामो समय लाग्ने देखियो । रकम कहिले पुग्ने भन्ने नै टुङ्गो लागेको छैन । त्यो कहिले उहाँहरूको हातमा पर्छ भन्ने नै अन्यौलता छ । सामान्य काजक्रिया पाउने कुरामा त यस्तो अन्यौलता छ भने अन्य क्षतिपूर्ति कहिले प्राप्त होला ?
सरकारले यसबिचमा धेरै छलफलहरू गर्यो । तर हामीलाई एक पटक निम्ता गरेको छैन् । यसले सरकारप्रति शङ्का उब्जिएको छ । अहिले पछिल्लो समय मन्त्री बनाउनेमा समितिहरू बनाएर छलफल भइरहेको छ । तर हामीसँग एक पटक पनि सोध्ने वा छलफल गर्ने काम भएको छैन् ।
मृतक परिवारको तर्फबाट प्रतिनिधित्व हुनै पर्छ भन्ने हाम्रो जोडदार माग छ । मृतक परिवार मृतक सहिदहरूको रगतबाट बनेको सरकारमा हामी समावेश हुँदैनौँ भने त्यसको केही पनि अर्थ रहँदैन । भोलि सरकारकै विरुद्धमा आन्दोलनमा आउनुपर्ने अवस्था देखिँदै छ ।
छानबिन आयोग गठन हुँदैछ भन्ने सुनेका छौँ । त्यो आयोगमा मृतक परिवार, पीडित परिवारबाटै मान्छे प्रतिनिधि हुँदैन भने त्यो छानबिन आयोगको कुनै औचित्य छैन् । त्यो समितिले आफ्नो किसिमले कारबाही गर्नुहोला त्यो हामीलाई मान्य नहुन सक्छ । हाम्रो प्रतिनिधित्व छानबिन आयोगमा भएन भने औचित्यहीन हुन्छ ।
आन्दोलनका नाममा केही लुटपाट गर्ने हिसाबको काम पनि भएको छ । लुटपाटकै क्रममा मृत्यु पनि भयो भन्ने छ । त्यो प्रमाणित पनि हुनुपर्ला । भिडियो फुटेजहरूले पनि बताउला । लुटपाटकै हिसाबले घुसपैठ गरेर जानेहरूलाई त अब त्यो अर्कै दृष्टिकोण भयो । त्यसलाई कारबाही हुनुपर्छ । तर वास्तविक आन्दोलनकारीको त मुद्दा सम्बोधन हुनुपर्छ । हाम्रो समितिमा यतिबेला दुई जना जति घाइतेहरू जोडिसक्नुभएको छ । क्रमशः सङ्गठित हुँदै गइरहेका छौँ ।
तर आन्दोलनमै मृत्यु भएकाहरू २० देखि २३ वर्षका धेरै छन् । मेरै भान्जा पनि २३ वर्षका थिए । अधिकृतको उ तयारी गरिरहेका थिए । एक जनामा हाम्रो अर्को मृतक हुनुहुन्थ्यो, उसको अस्ट्रेलियाको भिसा लागिसकेको थियो ।
राम्रो शिक्षा हासिल गरेको यस्ता युवाहरू धेरै परेका छन् । मेरो सम्पर्कमा आउनुभएका घाइतेहरू निस्वार्थ, राजनीतिक चेतना, देशको विकास र परिवर्तन गर्नुपर्छ भन्ने सोचका हुनुहुन्छ । लुटपाट मच्चाउनेहरूका विषयमा छानबिन होस ।
आन्दोलनको सुरुको दिनमा एक सफल नेतृत्वले आन्दोलन हाँकिरहेको होला भन्ने लागेको थियो । उठेका मागहरू पनि सम्बन्धित नेतृत्वसँग पुगेपछि सजिलो होला भन्ने सोचेका थियौँ । आन्दोलनको भोलिपल्ट जङ्गी अड्डा अगाडि जेनजी पुस्ताबिचमै भएको कुटपिट र हानाहानले हामीलाई सशङ्कित बनाएको छ ।
वार्ता टोलीमा बस्दाखेरि बालुवाटारमा जेनजीको टिमहरूसँग बस्दा नेतृत्व परिपक्व देखिएन । सुदन गुरुङजीसँग पनि कुराकानी भएको छ । उहाँहरू जेनजीको नेतृत्व बनेर काम गरिरहनुभएको छ । तर वास्तविक लिडरसिप कोही पनि देखेका छैनौँ । वास्तवमा आन्दोलनको प्रमुख नेतृत्व भनेको गोली खाएर बलिदान दिने, शहादत प्राप्त गर्नेहरू नै असली लिडर हुन् ।
हाल अन्तरिम सरकारको मन्त्रीहरू छानिने प्रक्रिया भइरहेको छ । यसमा कसैको नेतृत्व छैन, जो नेतृत्व छ, ति शहादत प्राप्त गर्ने सहिदहरू छन् । जेनजीका लिडर, मृतक परिवार नै हुन् । विभिन्न सामाजिक अभियन्ताहरू भन्ने भनाउँदाहरूले अहिले मृतक परिवारको संवेदना लिएर मन्त्रीको लागि, मृतक परिवारको समर्थन छ भन्ने हिसाबले दौडिरहनुभएको छ ।
उहाँहरूलाई मृतक परिवारको प्रतिनिधिका हिसाबले कडा चेतावनी दिन चाहन्छु । यदि मृतक परिवारको सल्लाह बिना कसैलाई ल्याएर टपक्क टिपेर मन्त्री बनाइन्छ भने घोर विरोध गर्दछौँ । मृतक परिवार तथा घाइते परिवार सहित एक ढिक्का भएर कडा रूपले सशक्त आन्दोलन गर्न तयार छौँ ।
हाम्रोबाट प्रतिनिधि हुँदैन भने कसैले हाम्रो नाम लिएर लास माथि राजनीति गर्न पाइँदैन । यस्ता मान्छेलाई सरकारमा आबद्ध नगर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । हामीले डा. जगत विक भन्ने जेनजी भाइलाई अगाडि बढाएका छौँ ।
उहाँको क्षमताको कदर होस । मागपत्र पनि तयार पारेका छौँ, उहाँलाई स्वास्थ्य मन्त्रीको लागि मृतक परिवारको तर्फबाट पठाउने तयारी गरेका छौँ । जेनजी आन्दोलनको मूल मर्म भनेको राजनीतिक पार्टीमा आबद्ध नभएको योग्य हुनुपर्छ भन्ने हो ।
सरकार बनाउने सिलसिलामा अझै पनि छलफलमा हामीलाई बोलाइँदैन, अझै पनि गृह मन्त्रीहरूलाई भेट्न हामीलाई मुस्किल भइरहेको छ । तर वाच डगको रूपमा अथवा पहरेदारको रूपमा एक जना व्यक्ति क्याबिनेटमा बसेर मृतक र घाइते परिवारको माग सम्बोधन गर्नुपर्छ । यदि त्यो नभएको खण्डमा, हामी मृतक तथा घाइते परिवार फेरि सशक्त आन्दोलनमा लाग्छौँ । बालुवाटार अगाडि र माइतीघर बसेर आन्दोलन चर्काउँछौँ ।
जेनजीका लिडर भन्नेहरूले र सरकारले हामीलाई बेवास्ता गरेको खण्डमा अवस्था अर्कै हुनेछ ।
प्रतिक्रिया